अभिलाष गुप्ता
वीरगञ्ज २१ जेष्ठ
जातीय भेदभाव तथा छुवाछुत उन्मुलनको २० औँ राष्ट्रिय दिवसको अवसरमा वीरगञ्जस्थित क्लासिक बैंक्वेटमा आयोजित विशेष गोष्ठी सम्पन्न भएको छ। उक्त कार्यक्रम नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
गोष्ठीमा बोल्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले आफू बाहुन परिवारबाट भए पनि जातीय छुवाछुत र भेदभावको विरोधी भएको स्पष्ट पारे। उनले भने, “म जनै लगाउने व्यक्ति हुँ, तर म जातीय छुवाछुत मान्दिन। यो समस्या विद्रोहबिना अन्त्य हुँदैन।”
पाण्डेले गाउँघरमा अझै पनि साना जात भनिने समुदायले छोएको पानी नचल्ने, यज्ञ वा धार्मिक अनुष्ठानमा सहभागी हुन नपाउनेजस्ता व्यवहार कायम रहेकोप्रति चिन्ता व्यक्त गरे। उनले जातीय छुवाछुत केवल नेपालको मात्र नभई भारत, बंगलादेश, पाकिस्तान, भुटान, म्यानमारलगायत दक्षिण एसियाली मुलुकहरूको साझा समस्या भएको बताए। साथै, यसको अन्त्य गर्न राज्य र सरकारले अग्रसर भूमिका लिनुपर्नेमा उनले जोड दिए।
कार्यक्रम नेकपा (एकीकृत समाजवादी) पर्सा अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।
गोष्ठीमा विशिष्ट अतिथिका रूपमा गणेश बिक, रामचन्द्र साह, मनोज चौधरी, सुशील हजारा, किशोरी कुशवाहा, दलित मुक्ति संगठनका सचिव वृजलाल पासवान, दलित अगुवा प्रभु हजारा, रामरुप राम, दलित जनजाति पर्साका संयोजक नीला राम लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा जातीय भेदभाव विरुद्ध ऐक्यबद्धता जनाउँदै, कानुनी कार्यान्वयन, जनचेतना अभिवृद्धि र सामाजिक रूपान्तरणका उपायहरूमाथि छलफल गरिएको थियो।

















