अभिलाष गुप्ता
बिरगंज २४ जेठ
भारतबाट अबैध रुपमा चोरी पैठारी गरी नेपाल भित्र्याइँदै गरेका प्रतिबन्धित ब्रोइलर कुखुराका ७५ कार्टुन (झण्डै ७५०० गोटा चल्ला) सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले नियन्त्रणमा लिएको छ।

गणबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका–५, डकैला चोक क्षेत्रबाट तीनवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेका ती चल्लाहरू नियन्त्रणमा लिएको हो। ती कुखुराका चल्लाहरू नेपालमा प्रतिबन्धित भएको तथा अवैध रूपमा भित्र्याइएको पाइएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका चल्लाहरू आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सशस्त्र प्रहरी बल गण नं. १३ को परिसरमै नष्ट गरिएको हो।

यसैबीच, चल्ला तस्करीमा प्रयोग भएका ती तीनवटा मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

















