२०८२ फाल्गुन ५ गते मंगलवार

एकैदिन ८० महिला जनमत पार्टीमा प्रवेश, ४१ सदस्यीय महिला टोल समिति गठन

 

अभिलाष गुप्ता
वीरगञ्ज २४ जेष्ठ

पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ माधोपुरमा एकैदिन ८० जना महिलाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। पार्टीकी जिल्ला सदस्य अनिता रामको पहलमा आयोजित एक विशेष कार्यक्रममा महिलाहरूले औपचारिक रूपमा पार्टीको सदस्यता लिएका हुन्।

कार्यक्रममा सहभागी महिलाहरूले सामाजिक रूपान्तरण र राजनीतिक सहभागितामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उक्त अवसरमा कलिता देवी रामको अध्यक्षतामा ४१ सदस्यीय महिला टोल समिति समेत गठन गरिएको छ। पार्टीका अनुसार यस समितिले स्थानीयस्तरमा पार्टीको सांगठानिक सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले महिलाहरूको यो सहभागिता पार्टी संगठनका लागि प्रेरणादायी भएको बताए। उनले महिला टोल समितिको गठनले स्थानीय राजनीति र सामाजिक सचेतनामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

जनमत पार्टीका नेता बृजेश्वर प्रसाद चौधरीले महिलाको नेतृत्व विकास र सशक्तिकरणप्रति पार्टीको प्रतिबद्धता दोहोर्‍याउँदै नयाँ प्रवेशकर्ताहरूले पार्टीभित्र महिला सशक्तिकरण अभियानलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरे।

 

कार्यक्रममा केन्द्रीय सदस्य ई. राहुल रौनियार, प्रदेश सदस्य बृजेश्वर चौधरी, महिला जिल्ला अध्यक्ष अञ्जना गुप्ता, पालिका अध्यक्ष सुनिल मुखिया, युवा वीरगञ्ज अध्यक्ष संजय सिंह लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM