२०८२ माघ ११ गते आईतवार

ट्राफिक सप्ताहको चौथो दिन वीरगञ्जमा आँखा जाँच सिविर तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
वीरगञ्ज, २५ जेठ

पर्सा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सञ्चालित ट्राफिक सप्ताह २०८२ को चौथो दिन आइतबार वीरगञ्जमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी सडक सुरक्षाबारे नागरिकहरूलाई जानकारी प्रदान गरिएको छ। कार्यक्रम अन्तर्गत निशुल्क आँखा जाँच सिविर, ट्राफिक सचेतना पर्चा वितरण, स्टिकर टाँस्ने कार्य तथा व्यावहारिक ज्ञान प्रदानजस्ता क्रियाकलाप समेटिएका थिए।

कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गरेका थिए। उनका अनुसार ट्राफिक सप्ताहको अवसरमा आगामी दिनहरूमा वीरगञ्जका विभिन्न क्षेत्रमा सडक सुरक्षा अभिवृद्धिका लागि सचेतनामूलक अभियानहरूलाई अझ प्रभावकारी बनाइनेछ। उनले भने, “नागरिकको सहभागिता र सहकार्यबिना सुरक्षित र अनुशासित यातायात प्रणालीको परिकल्पना गर्न सकिन्न। ट्राफिक सप्ताहलाई हामी त्यसकै अवसरका रूपमा प्रयोग गर्दैछौं।”

वीरगञ्जको नयाँ बसपार्क क्षेत्रमा सम्पन्न आँखा जाँच सिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो। चालक, सहचालक तथा अन्य सवारीसाधनसम्बन्धी कर्मचारीहरूका लागि सञ्चालन गरिएको उक्त सिविरमा १०७ जनाले आँखा परीक्षण गराएका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख निरोज चौलागाईं, ट्राफिक प्रहरीका गुणनिधि खकुरेल, श्रीपुर प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक, समाजसेवी दिलीप कार्की, वडा नं. ४ का वडा अध्यक्ष जगत साह कानु, प्रभु अस्पतालका कर्मचारीहरू, पत्रकार अभिलाष गुप्ता तथा दीपक चौरसिया लगायतको उपस्थिति रहेको थियो।

यसैक्रममा, ट्राफिक सप्ताहको चौथो दिन दुई वटा शैक्षिक संस्थाका विद्यार्थीहरूको सक्रिय सहभागितासमेत देखिएको छ। वीरगञ्जस्थित साउथजोन मावि र एन्जल वर्ल्ड स्कूलका विद्यार्थीहरूलाई विभिन्न व्यस्त चोकहरूमा खटाई पैदल यात्रुहरूलाई जेब्रा क्रसिङ प्रयोग गर्न, सहि दिशा र सडक पेटीबाट हिँड्न प्रेरित गरिएको थियो। विद्यार्थीहरूद्वारा ट्राफिक सचेतनामूलक पर्चा तथा पम्पलेट वितरण गरिनुका साथै सार्वजनिक स्थानमा ट्राफिक शिष्टाचारबारे जानकारीसमेत प्रदान गरिएको थियो।

यस किसिमका जनमुखी तथा व्यवहारमैत्री कार्यक्रमहरूले ट्राफिक नियमप्रति नागरिकमा चेतना जागृत गराउने र सडक दुर्घटना न्यूनिकरणमा टेवा पुर्याउने विश्वास कार्यक्रम आयोजकहरूले लिएका छन्। ट्राफिक सप्ताह २०८२ का अन्य दिनहरूमा पनि थप जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी आयोजकले दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM