२०८२ पुष १ गते मंगलवार

मुख्यमन्त्रीद्वारा सडकमै छड्के अनुगमन, अवैध रूपमा बढी कर असुल्ने तीन जना पक्राउ

 

 

पर्सा जिल्लामा भारतबाट आउने सवारी साधनहरूमाथि अवैध रूपमा तोकिएकोभन्दा बढी सवारी कर असुली भइरहेको व्यापक जनगुनासोपछि प्रदेश २ का मुख्यमन्त्री सतिस सिंह आफैँ सडकमै उत्रेर छड्के अनुगमन गरेका छन्।

सोमबार मुख्यमन्त्री सिंहले वीरगञ्ज ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ सडक खण्डमा रहेका ढाट (कर संकलन स्थल) हरूको स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा अनुगमन टोलीले विभिन्न भारतीय गाडीहरूबाट नियम विपरीत बढी सवारी कर लिइएको प्रमाण भेटिएको थियो।

ढाटमा अनियमितता पुष्टि भएलगत्तै तीन जनालाई नियन्त्रणमा लिइएको र उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

मुख्यमन्त्री सिंहले अनुगमनको क्रममा सम्बन्धित निकायका प्रतिनिधिहरूलाई कर संकलन प्रक्रिया पारदर्शी, वैज्ञानिक र जनमैत्री बनाउन निर्देशन दिएका छन्। उनले जनगुनासोको तत्काल सम्बोधन गर्दै जनताको विश्वास जित्ने खालका कार्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

स्थानीय स्रोतका अनुसार केही समयदेखि ड्राइपोर्ट हुँदै परवानीपुरतर्फ जाने भारतीय सवारीसाधनहरूबाट सवारी करको नाममा निर्धारित दरभन्दा दोब्बर वा त्यसभन्दा बढी रकम असुल्ने गरिएको थियो। यो विषयमा व्यवसायी, चालक र स्थानीयवासीहरूले पटक–पटक ध्यानाकर्षण गराउँदै आएका थिए।

छड्के अनुगमनमा मुख्यमन्त्रीसँगै यातायात कार्यालय, प्रदेश प्रहरी, भन्सार कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासनका अधिकारीहरू तथा प्रदेश सरकारका अन्य उच्च पदस्थ कर्मचारीहरू सहभागी थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM