सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिक उत्सवको अवसरमा मधेश प्रदेशमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरिएको छ। मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा र सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साको संयोजकत्वमा वीरगंज महानगरपालिका–१४ पिपरा स्थित पशुपतिनाथ मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भयो।
यही अवसर पारेर असार १६ गते जिल्ला रेडक्रस सोसाइटी पर्सासँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साको परिसरमा सञ्चालन गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिल्ला रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, प्रभु अस्पताल वीरगंजका सञ्चालक दिलिप कार्की, इनोभेटिभ संस्था बिरगंजका संचालक कमल चौगाई, लायन्स क्लब अफ वीरगंजका अध्यक्ष डी.एन. अग्रवाल तथा एलाइड युथ सोसाइटीका ओम कुमार झा लगायतको उपस्थिति रहेको थियो।
उक्त रक्तदान कार्यक्रममा ४० जना स्वयंसेवकहरूले रक्तदान गरेका थिए। हालको गर्मीको कारण विरामीहरूको संख्या दिनप्रतिदिन बढिरहेको सन्दर्भमा, रगतको अभाव न्युनिकरण गर्न उक्त कार्यक्रमले सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको छ।



















