अभिलाष गुप्ता
वीरगञ्ज, साउन १८

रोटरी डायग्नोस्टिक सेन्टर, वीरगञ्जद्वारा सञ्चालित रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्र अन्तर्गत सञ्चालन भइरहेको रोटरी कृत्रिम हात परियोजना मार्फत मंगलबार निःशुल्क कृत्रिम हात तथा खुट्टा वितरण कार्यक्रम सम्पन्न भएको छ। आर्थिक अवस्था कमजोर भएका तथा दुर्घटना वा अन्य कारणले हात–खुट्टा गुमाएका व्यक्तिहरूलाई पुनः सामान्य जीवनयापनमा फर्काउने उद्देश्यले सञ्चालन भइरहेको यस परियोजनाले हालसम्म ११ सयभन्दा बढी व्यक्तिलाई कृत्रिम हात तथा खुट्टा उपलब्ध गराइसकेको केन्द्रले जनाएको छ।
वीरगञ्ज महानगरपालिका–४, नारायणी अस्पताल पछाडि रहेको रोटरी डायग्नोस्टिक सेन्टरमा आयोजित कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा वीरगञ्जस्थित डीएभी स्कुलमा कक्षा ११ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूले समेत परियोजनाको अवलोकन गरेका थिए।
कार्यक्रममा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाबाट आएका तीन जना अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण गरिएको थियो।
सेवा प्राप्त गर्नेमध्ये राधा पौडेलले दुर्घटनाका कारण आफ्नो हात गुमाएकी थिइन्। त्यसैगरी थमन सिंह ताम्राकार र झबिन्द्र बहादुरले दुर्घटनामा आफ्नो खुट्टा गुमाएका थिए। कृत्रिम अंग जडानपछि उनीहरूले आफूहरूलाई नयाँ जीवन पाएको अनुभूति भएको भन्दै रोटरी परिवारप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सरोज प्रसाद चौधरीले रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रले गर्दै आएको सेवा अत्यन्तै अनुकरणीय र मानवीय भएको बताए। उनले दुर्घटना वा अन्य कारणले शारीरिक अंग गुमाएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम अंग उपलब्ध गराएर आत्मनिर्भर र सम्मानपूर्ण जीवनतर्फ फर्काउने कार्य समाजसेवाको उत्कृष्ट उदाहरण भएको उल्लेख गरे।
उनले भने, “रोटरीले केवल कृत्रिम हात–खुट्टा मात्र वितरण गरेको होइन, आशा, आत्मविश्वास र नयाँ जीवन प्रदान गरेको छ। यस्ता सेवामूलक अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने भएकाले सबै पक्षबाट सहयोग र प्रोत्साहन आवश्यक छ।”
साथै, उनले डीएभी स्कुलका विद्यार्थीहरूलाई यस्ता सामाजिक तथा मानवीय कार्यक्रमको अवलोकनबाट सेवा भाव, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको महत्त्व बुझ्ने अवसर मिलेको बताए।
कार्यक्रम रोटरी क्लब अफ वीरगञ्जका नवनिर्वाचित अध्यक्ष रोटेरियन राकेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्जका प्रोजेक्ट कोअर्डिनेटर डा. शाश्वत प्रसाद, सदस्य डा. आनन्द कुमार झा, रोटेरियन अभिषेक चौधरी लगायत अन्य रोटेरियनहरूको विशेष उपस्थिति रहेको थियो।
रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रले विगत पाँच वर्षदेखि निरन्तर रूपमा आर्थिक रूपमा विपन्न तथा दुर्घटना, रोग वा अन्य कारणले हात–खुट्टा गुमाएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम अंग उपलब्ध गराउँदै उनीहरूको जीवन सहज, आत्मनिर्भर र सम्मानजनक बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। केन्द्रले आगामी दिनमा पनि सेवा विस्तार गर्दै अझ बढी आवश्यकतामन्दसम्म पुग्ने प्रतिबद्धता जनाएको छ।























