२०८३ भाद्र ३१ गते बुधबार

वीरगञ्जमा ज्ञान वाटिका कलेजको कक्षा ११ स्वागत कार्यक्रम सम्पन्न

 

वीरगञ्जस्थित ज्ञान वाटिका कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै विशेष स्वागत कार्यक्रम सम्पन्न गरेको छ। नयाँ विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरणसँग परिचित गराउँदै उनीहरूको आगामी शैक्षिक यात्रालाई उत्साहपूर्ण र सफल बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

ज्ञान वाटिका कलेजका प्रिन्सिपल रोशन कुमार पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला साह,जनमत पार्टीका युवा नेता ओम प्रकाश सरार्फ लगाएतकाहरुको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा वीरगञ्ज तथा आसपासका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी तथा सम्बन्धित क्षेत्रका प्रहरी इन्चार्जको समेत उपस्थिति रहेको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले कक्षा ११ मा प्रवेश गरेका नयाँ विद्यार्थीहरूलाई शैक्षिक सफलताको शुभकामना व्यक्त गर्दै अनुशासन, मेहनत, लगनशीलता र सकारात्मक सोचलाई आत्मसात् गरेर आफ्नो शैक्षिक यात्रा अगाडि बढाउन आग्रह गरेका थिए। विद्यार्थी जीवनमा अध्ययनसँगै अनुशासन, समयको सदुपयोग र असल व्यवहारको महत्वपूर्ण भूमिका रहने भन्दै उनीहरूले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध भएर अघि बढ्न विद्यार्थीहरूलाई प्रेरित गरेका थिए।

स्वागत कार्यक्रममा नयाँ विद्यार्थीहरूले आफूहरूलाई कलेज परिवारले आत्मीयतापूर्वक स्वागत गरेको भन्दै खुशी व्यक्त गरेका थिए। कार्यक्रमका क्रममा विद्यार्थीहरूले एकअर्कासँग परिचित हुने अवसर पाउनुका साथै शिक्षक तथा कलेजको शैक्षिक वातावरणबारे समेत जानकारी प्राप्त गरेका थिए।

कार्यक्रमले कक्षा ११ मा नयाँ प्रवेश गरेका विद्यार्थीहरूलाई कलेजको वातावरणसँग घुलमिल हुन, नयाँ साथी तथा शिक्षकहरूसँग परिचित हुन र आगामी शैक्षिक यात्रालाई उत्साह, आत्मविश्वास तथा सकारात्मक सोचका साथ अघि बढाउन थप हौसला प्रदान गरेको कलेजले जनाएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM