अभिलाष गुप्ता
बिरगंज, जेठ ८
बिरगंजको गहवा स्थित ऐतिहासिक गहवा माईस्थानको सेवा र व्यवस्थापनमा सक्रिय गहवा माईस्थान सञ्चालक समितिको विधिवत दर्ता आज बिहीबार सम्पन्न भएको छ। समितिको अध्यक्ष नरेन्द्र साह अग्रवालको नेतृत्वमा सम्पन्न यस ऐतिहासिक कार्यका लागि समितिका सम्पूर्ण सदस्य तथा पदाधिकारीहरूलाई बधाई तथा आगामी कार्यक्रमहरूका लागि शुभकामना व्यक्त गरिएको छ।
अध्यक्ष अग्रवालको कार्यकाललाई हिन्दू धर्म र गहवा माईको सेवामा समर्पित, निस्वार्थ भावनाले प्रेरित भएको भन्दै स्थानीय समुदाय र श्रद्धालुहरूले उच्च सराहना गरेका छन्। उहाँको नेतृत्वमा गहवा माईको दैनिक सेवा, ऐतिहासिक डोली यात्रा, रक्तदान कार्यक्रम, मन्दिर परिसरमा बाउन्ड्री वाल निर्माण, विशेष आर्ति तथा धार्मिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका थिए।
अध्यक्ष अग्रवालले सामाजिक तथा धार्मिक चेतना अभिवृद्धिमा पनि विशेष योगदान दिँदै समान कार्य कार्यक्रमको समेत सफल आयोजना गरेका थिए।
गहवा माईस्थानको सेवामा अग्रसर समितिलाई स्थानीयवासी, भक्तजन तथा धार्मिक संघसंस्थाहरूले निरन्तर सहयोग र समर्थन जनाइरहेका छन्।
























