अभिलाष गुप्ता
बिरगंज, २५ जेठ
आमसञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामको आयोजनामा एक दिने साईबर सुरक्षा तथा कृत्रिम बौद्धिकता (ए.आई.) सम्बन्धी अभिमुखिकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ‘डिजिटल युगको पत्रकारिता र साईबर सुरक्षा’ भन्ने मूल उद्देश्यका साथ आयोजित सो कार्यक्रम पर्सा जिल्लाका सञ्चारकर्मीहरूलाई लक्षित गरी सम्पन्न भएको हो।
बिरगंजस्थित बृन्दावन होटलमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन मधेश प्रदेश सभा सदस्य श्याम पटेलले दीप प्रज्वलन गर्दै गरेका थिए। प्रमुख अतिथिका रूपमा कार्यक्रममा सहभागी पटेलले बदलिंदो प्रविधिको युगमा सञ्चारकर्मीहरूले साईबर सुरक्षा र कृत्रिम बौद्धिकतासम्बन्धी ज्ञान राख्न जरुरी भएको उल्लेख गर्दै यस्तो खालका कार्यक्रमले उनीहरूलाई डिजिटल खताबाट जोगिन सशक्त बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रम आमसञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामका प्रमुख जितेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। खडकाले सम्बोधनका क्रममा यस कार्यक्रम मधेश प्रदेशका पाँच जिल्लामा सफलतापूर्वक सम्पन्न भइसकेको उल्लेख गर्दै पर्सा जिल्लासँगै यो छैटौं जिल्ला भएको जानकारी दिए। उनले यस्ता प्रविधिमैत्री कार्यक्रमले पत्रकारहरूलाई समसामयिक चुनौतीहरूसँग जुध्न सशक्त बनाउने धारणा राखे।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान, महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, केन्द्रीय लेखा संयोजक केसी लामिछाने, र जनजाति पत्रकार महासंघ मधेश प्रदेशकी उपाध्यक्ष प्रिया सिंह थारुको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय महतोले गरेका थिए।
प्रशिक्षण सत्रमा सूचना प्रविधि विज्ञ प्रकाश मैनालीले सहभागी पत्रकारहरूलाई साईबर अपराध, डिजिटल उपकरणहरूको सुरक्षा, सामाजिक सञ्जालको प्रयोगमा सावधानी, डेटा संरक्षण, र पत्रकारितामा कृत्रिम बौद्धिकताको प्रयोगबारे व्यवहारिक जानकारी दिएका थिए। उनले साईबर आक्रमणका सम्भावित जोखिम, सजगता अपनाउने उपायहरू र ए.आई. सँग सम्बन्धित नयाँ सम्भावनाहरूबारे प्रशिक्षण दिए।
अभिमुखिकरण कार्यक्रममा पर्सा जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्ध ५० जना पत्रकारहरूले सहभागिता जनाएका थिए। सहभागीहरूले कार्यक्रम अत्यन्तै उपयोगी र जानकारीमूलक भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता तालिमले आफ्नो पेसागत कार्यमा प्रत्यक्ष सहयोग पुग्ने भन्दै आगामी दिनमा अझ विस्तृत र नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेका छन्।
आयोजक आमसञ्चार प्राधिकरणले भने यस्ता प्रविधि र सुरक्षा सम्बन्धी कार्यक्रमलाई अन्य जिल्लाहरूमा समेत निरन्तरता दिने बताएको छ।








