२०८२ चैत्र १८ गते बुधबार

सिर्सिया सुक्खा बन्दरगाह भन्सारबाट १० महिनामा ४१ अर्बभन्दा बढी राजस्व संकलन

 

अभिलाष गुप्ता
वीरगन्ज, १३ जेठ

वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालका अनुसार, चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि बैशाखसम्मको अवधिमा यो संकलन भएको हो, जुन वार्षिक लक्ष्यको ६८.५८ प्रतिशत हो। सोही अवधिमा अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब १४ करोड २८ लाख रुपैयाँ बढी राजस्व संकलन भएको बरुवालले जानकारी दिए।

गत आर्थिक वर्षको पहिलो १० महिनामा कार्यालयले ४० अर्ब ३ करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। चालु वर्षमा भने सोही अवधिमा राजस्व संकलन बढेर ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ पुगेको हो।

महिनावार राजस्व विवरण हेर्दा, साउनमा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा ४ अर्ब ३६ करोड, कात्तिकमा ३ अर्ब ७९ करोड, मङ्सिरमा ३ अर्ब २२ करोड, पुसमा ३ अर्ब ५६ करोड, माघमा ४ अर्ब २९ करोड, फागुनमा ४ अर्ब ६८ करोड, चैतमा ४ अर्ब ५० करोड र बैशाखमा ४ अर्ब ३४ करोड ५२ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

भन्सार विभागले सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालु आर्थिक वर्षमा कुल ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM