बिरगंज, जेष्ठ १५
अभिलाष गुप्ता
गणतन्त्र दिवस २०८२ को अवसरमा बिरगंज महानगरपालिका वडा नं. ४ स्थित श्री त्रीजुद्ध रघुबिर प्रसाद रघुनाथ माध्यमिक विद्यालय अन्तर्गत रहेको दृष्टिबिहीन बालबालिका आश्रममा १.५ टन क्षमताको एयर कन्डिसनर (एसी) हस्तान्तरण गरिएको छ। बिरगंजको तीव्र गर्मीबाट बालबालिकालाई राहत दिन उद्देश्यसहित गरिएको यो कार्य समाज सेवाको उत्कृष्ट उदाहरण बन्न पुगेको छ।
कार्यक्रम बिरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अर्बिन्द लाल कर्ण तथा जिल्ला शिक्षा इकाई पर्साका प्रमुख हरि राउतको विशेष पहलमा सम्पन्न भएको हो। कार्यक्रमको आयोजना गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाको अगुवाइमा गरिएको थियो।

बालबालिकालाई समर्पित समर्पण
उक्त आश्रममा बसोबास गरिरहेका १३ जना दृष्टिबिहीन बालबालिकाहरूको सहजता र स्वास्थ्यलाई ध्यानमा राखी प्रदान गरिएको यो एसीले तातो मौसममा उनीहरूको जीवनस्तरमा सुधार ल्याउने विश्वास लिइएको छ।
कार्यक्रम जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्यालको प्रमुख आतिथ्यतामा तथा विद्यालयका प्रधानाध्यापक नवीन कुमार मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा एलाइड सोसाइटीका अध्यक्ष ओम कुमार झा तथा सञ्चारकर्मी अभिलाष गुप्ताको विशेष उपस्थिति रहेको थियो।
गौतम समाजको सामाजिक उत्तरदायित्व
गौतम माध्यमिक विद्यालय द्वारा संचालित गौतम समाज कल्याण संस्था स्थापना कालदेखि नै सामाजिक कार्यमा अग्रसर रहँदै आएको संस्था हो। विद्यालयले शिक्षा मात्र होइन, सामाजिक न्याय, बाल संरक्षण, र विद्यालयहरूमाथि सामग्री सहयोग जस्ता विविध क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।

विशिष्ट सहभागिता
कार्यक्रममा गौतम स्कुलका प्रिन्सिपल तथा समाज कल्याण संस्थाका अध्यक्ष गणेश क्षेत्री, सौराज प्रधान, रमेश शर्मा, अल्भिन रेन्जर, नरेन्द्र कर्ण, ललित कर्ण, प्रधुमन सराफ लगायतका विशिष्ट व्यक्तित्वहरूको सक्रिय उपस्थिति रहेको थियो।
समाजसेवाको प्रेरणा
कार्यक्रमले समाजका कमजोर वर्गहरूलाई संरक्षण गर्न र समर्पणपूर्वक सेवा दिन सकिने सन्देश दिएको छ। गणतन्त्र दिवसको अवसरमा दृष्टिबिहीन बालबालिकालाई दिइएको यो सहयोगले समाजिक उत्तरदायित्व र मानवताको भावनालाई थप बलियो बनाएको सहभागीहरूद्वारा व्यक्त गरिएको थियो।








