अभिलाष गुप्ता
वीरगंज,१५ जेष्ठ
१८औँ गणतन्त्र दिवसको अवसरमा नेकपा (एमाले) वीरगंज महानगर कमिटीले वीरगंजमा भव्य मोटरसाइकल र्याली तथा सभाको आयोजना गरी राष्ट्रिय दिवसको उल्लासपूर्वक आयोजना सम्पन्न गरेको छ।
कार्यक्रमको प्रारम्भ वीरगंजस्थित चिनी मिल गेटबाट मोटरसाइकल र्याली सुरु गरिएको थियो। सो र्याली वीरगंज महानगरका विभिन्न स्थानहरु परिक्रमा गर्दै ऐतिहासिक घन्टाघरमा पुगेर सभामा परिणत भएको थियो।
घन्टाघरमा आयोजित सभाको अध्यक्षता नेकपा एमाले वीरगंज महानगर कमिटीका अध्यक्ष नवराज शर्माले गरेका थिए। कार्यक्रममा नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष तथा वीरगंज महानगर इञ्चार्ज बिचारी यादवले प्रमुख वक्ताको रूपमा सम्बोधन गरेका थिए। उनले गणतन्त्रको स्थापनामा नेकपा एमालेले खेलेको निर्णायक भूमिका स्मरण गर्दै भने, “यो देशको संविधान निर्माणदेखि गणतन्त्र स्थापनासम्म एमालेको योगदान ऐतिहासिक छ र आजको दिन त्यो योगदानलाई स्मरण गर्ने अवसर पनि हो।”
कार्यक्रम सञ्चालन नेकपा एमाले वीरगंज महानगर कमिटीका सचिव लियाकत अन्सारीले गरेका थिए। कार्यक्रममा नेकपा एमालेका पदाधिकारीहरु, विभिन्न वडास्तरका नेताहरु, युवा तथा महिला संगठनका प्रतिनिधिहरु तथा हजारौँ कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको दोस्रो चरणमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू वीरगंजस्थित नारायणी अस्पताल पुगेर बिरामीहरुलाई फलफूल वितरण गरेका थिए। मानव सेवाको भावनासहित गरिएको उक्त कार्यले सामाजिक उत्तरदायित्वप्रति पार्टीको प्रतिबद्धता देखाएको आयोजकहरूले जनाएका छन्।
गणतन्त्र दिवसको अवसरमा सम्पन्न यस कार्यक्रमले वीरगंजवासीहरूमा उत्साह थप्नुका साथै राष्ट्रिय भावना जगाएको सहभागीहरूको प्रतिक्रिया थियो।








