२०८२ चैत्र १ गते आईतवार

कोभिड संक्रमणको सम्भावित जोखिमप्रति सचेत, स्वास्थ्य संकट व्यवस्थापन समितिको पूर्व तयारी निर्णय

 

अभिलाष गुप्ता
वीरगंज, १५ जेष्ठ

छिमेकी देश भारतलगायत विभिन्न स्थानहरूमा कोभिड संक्रमित बिरामीहरू देखा पर्न थालेको पछिल्ला समाचारहरूलाई मध्यनजर गर्दै पर्सा जिल्लामा स्वास्थ्य सतर्कता अभिवृद्धि गर्न जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले विशेष निर्णयहरू गरेको छ।

आज बिहीबार, जेष्ठ १५ गते, वीरगंजमा सम्पन्न समितिको बैठकले संक्रमणको सम्भावित जोखिम रोकथामका लागि आवश्यक पूर्व तयारीका कार्यहरू अघि बढाउने निर्णय गर्दै एक दर्जनबढी महत्वपूर्ण बुँदाहरू तय गरेको छ।

मुख्य निर्णयहरू यस्ता छन्:

क. सीमा क्षेत्रमा कडाइ:
भारतसँगको खुला सिमानालाई ध्यानमा राखी प्रवेश विन्दुहरूमा स्क्रिनिङ थप प्रभावकारी बनाइनेछ। निगरानी र स्वास्थ्य सतर्कता सम्बन्धी निर्देश सरोकारवाला निकायहरूलाई दिइएको छ।

ख. हेल्थ डेस्क सुदृढीकरण:
भारतीय भूमिबाट आउने यात्रुहरूको स्वास्थ्य परीक्षणका लागि स्थापित हेल्थ डेस्कहरूलाई थप जनशक्ति, सुरक्षाकर्मी र साधनसहित सशक्त बनाइनेछ।

ग. स्वास्थ्य संस्थाहरू तयारी अवस्थामा:
सवै स्वास्थ्य संस्था र अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। क्रिटिकल केस बाहेक अन्य संक्रमितलाई अन्यत्र रिफर नगर्न पनि भनिएको छ।

घ. सामग्रीको सुनिश्चितता:
मास्क, सेनिटाइजर, अक्सिजन जस्ता जीवनरक्षक सामग्रीहरूको पर्याप्त स्टक सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ।

ङ. पारिश्रमिक भुक्तानी:
प्रवेश विन्दुमा खटिएका कर्मचारीहरूको रोकिएको तलब यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गरिनेछ।

च. परीक्षण तथा खोप व्यवस्था:
RDT किट, PCR परीक्षण सामाग्री र खोप आवश्यक मात्रामा उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरिने निर्णय गरिएको छ।

छ. जनचेतना अभिवृद्धि:
जनस्तरमा कोभिड सम्बन्धी सतर्कता र जनचेतना फैलाउन सबै स्थानीय तहहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

बैठकमा समितिका अध्यक्ष तथा पर्साका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्यालको अध्यक्षता रहेको थियो। बैठकमा नारायणी अस्पतालका मेसु डा. चुमन लाल दास, श्रीजंग गणका प्रमुख निराजन कटुवाल, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, उप–अनुसन्धान अधिकृत दिलिप कुमार सिंह, जिल्ला समन्वय समितिका विनय कुमार श्रीवास्तव, सचिव सुमन कुमार कार्की लगायत नेपाल इनोभेट सोसाइटीका अध्यक्ष कमल चौगाई, सञ्चारकर्मी हिमाल लम्साल, अभिलाष गुप्ता लगायतको उपस्थिति रहेको थियो।

समितिले संक्रमण नियन्त्रणका लागि सामूहिक प्रयास, समयमै सतर्कता, जनचेतना र समन्वयलाई प्राथमिकता दिँदै सम्पूर्ण नागरिकमा सावधानी अपनाउन आह्वान गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM