अभिलाष गुप्ता
वीरगंज १७ जेष्ठ
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रधानाध्यापक संघ नेपाल (PAN) मधेश प्रदेशले सम्मान गरेको छ ।
जनकपुरधाममा आयोजित प्रधानाध्यापक संघ नेपाल (PAN) मधेश प्रदेशको दोस्रो प्रदेश सभा कार्यक्रमकाबीच महानगर प्रमुख सिंहलाई सम्मान गरिएको हो ।
वीरगंज महानगरले पछिल्ला वर्षहरूमा शैक्षिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षाको प्रवर्धन र बालमैत्री वातावरण निर्माणमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै PAN मधेश प्रदेशले नगर प्रमुख सिंहलाई सम्मानित गरेको हो ।
अस्वास्थ्यताका कारण नगर प्रमुख सिंह स्वयम् कार्यक्रममा उपस्थित हुन नसके पनि उहाँको तर्फबाट वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सम्मान ग्रहण गर्नुभएको थियो। कार्यक्रममा वीरगंजको समग्र शैक्षिक प्रयासको प्रशंसा गर्दै आयोजक संस्थाले वीरगंज महानगरलाई मधेश प्रदेशभरकै लागि प्रेरणाको पालिकाको रूपमा उल्लेख गरेको थियो ।
यस्तै महानगरकै सुन्दरमल्ल रामकुमार कन्या माध्यमिक विद्यालय वीरगंजकी बाल विकास शिक्षिका गिता खनाललाई मधेश प्रदेशकै उत्कृष्ट बाल विकास शिक्षकको रुपमा सम्मान गरिएको छ उहाँलाई नगद पाँच हजारसहित सम्मानित गरिएको हो । बालबालिकासँगको आत्मीय सम्बन्ध, शिक्षण पद्धतिमा सिर्जनशीलता र निरन्तर समर्पणका लागि उहाँलाई यो सम्मान प्रदान गरिएको हो।
त्यस्तै, सिन्दुरिया माई आधारभूत विद्यालय लक्ष्मणवाका अभिभावक शिक्षक संघ (PTA) अध्यक्ष प्रदीप कुमार गुप्तालाई मधेश प्रदेशकै उत्कृष्ट PTA अध्यक्षको रुपमा सम्मानित गरियो । विद्यालय व्यवस्थापनमा अभिभावकको भूमिका अझ प्रभावकारी बनाउन उहाँले खेलेको अग्रसरतालाई उदाहरणीय ठहर गर्दै यो सम्मान प्रदान गरिएको PAN मधेश प्रदेशले जनाएको छ ।
जनकपुरमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशभरिका शिक्षकमात्र नभई विद्यालय व्यवस्थापन, अभिभावक प्रतिनिधि र शिक्षा क्षेत्रका विभिन्न तहका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षा क्षेत्रका चुनौती र समाधानमाथि विचार–विमर्श गर्दै सहकार्य र समर्पणबाट मात्र समृद्ध शैक्षिक भविष्य सम्भव छ भन्ने सन्देश दिइएको थियो।
नगर प्रमुख सिंह, शिक्षिका गिता खनाल र PTA अध्यक्ष प्रदीप गुप्तालाई प्राप्त सम्मानले वीरगंजको शैक्षिक प्रतिष्ठामा थप गौरव थपेको छ। उनीहरूलाई यस उपलब्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।








