अभिलाष गुप्ता
बीरगंज, जेठ २२
विश्व वातावरण दिवस २०८२ को अवसरमा बीरगंज महानगरपालिका श्रीपुरस्थित गौतम माध्यमिक विद्यालयमा विशेष कार्यक्रमका साथ कक्षा सजावट प्रतियोगिता सम्पन्न गरिएको छ।
विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आफ्ना कक्षाहरू सजाएर कला प्रदर्शन गरेका थिए। कक्षा सजावटमा वातावरण प्रदूषण कसरी हुन्छ, त्यसको रोकथाम नहुँदा के असर पर्न सक्छ भन्ने सन्देश कलात्मक रूपमा प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले स्वच्छ वातावरणको महत्त्वलाई चित्र, नारा र सजावटी सामग्रीको माध्यमबाट प्रभावकारी रूपमा उजागर गरेका थिए।

उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीको अध्यक्षता तथा प्याब्सन बीरगंजका अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा सचिव अमित आलोक, बीपी यादव, मानवसेवा आश्रमका संस्थापक देवेश मानवसेवा, एलाइड युथ सोसाइटीका अध्यक्ष ओम कुमार झा र सञ्चारकर्मी अभिलाष गुप्ता तथा अर्जुन चौधरी,शिक्षक सौराज प्रधानको विशेष उपस्थिति रहेको थियो।
आइतबार सम्पन्न भएको प्रतियोगितामा कक्षा १० ‘डी’ सेक्सनले प्रथम स्थान, कक्षा १० ‘बी’ सेक्सनले दोस्रो स्थान तथा कक्षा ८ ‘ए’ सेक्सनले तेस्रो स्थान हासिल गरेका छन्। निर्णायक मण्डलमा राहुल श्रीवास्तव, अमित आलोक, बीपी यादव, देवेश गुप्ता र ओम कुमार झा रहेका थिए।

कार्यक्रममा बोल्दै प्याब्सन बीरगंजका अध्यक्ष राहुल श्रीवास्तवले विद्यार्थीहरू न केवल पठनपाठनमा, तर अतिरिक्त क्रियाकलापहरूमा पनि सक्रिय र अब्बल देखिएको उल्लेख गर्दै उनीहरूको प्रतिभालाई उच्च सम्मान दिनुपर्ने बताए। “कक्षा सजावट अत्यन्तै सृजनात्मक र सन्देशमूलक थियो, जसले निर्णायकहरूलाई समेत निर्णय दिन कठिन बनायो,” उनले भने।
कार्यक्रमले विद्यालय तथा समुदायमा वातावरणप्रति सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरू बताउँछन्। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।








