अभिलाष गुप्ता
वीरगञ्ज, २६ जेठ
पर्सा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सञ्चालित ट्राफिक सप्ताह २०८२ अन्तर्गत सोमबार पाचौं दिन वीरगञ्ज महानगरपालिका–२४ स्थित परवानीपुर क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गरेका थिए। उनले ट्राफिक सप्ताहको माध्यमबाट सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउने मात्र नभई वातावरण संरक्षणमा समेत योगदान पुर्याउने उद्देश्य राखिएको बताए। उनका अनुसार आगामी दिनहरूमा वीरगञ्जका विभिन्न क्षेत्रमा अझ प्रभावकारी ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रममा ट्राफिक प्रहरीका गुणनिधि खकुरेल, नेपाली कांग्रेसका नेता हबिब मिया, समाजसेवी विजय गुप्ता, बारा इँटा व्यवसायी संघका अध्यक्ष ओमप्रकाश यादव, युवा नेता ज्ञानेन्द्र मण्डललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

करिब २०० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका १५० वटा बिरुवा रोपिएको आयोजकले जानकारी दिएका छन्। यस कार्यक्रमबाट हरियाली प्रवर्द्धन र वातावरण संरक्षणमा सकारात्मक सन्देश प्रवाह भएको विश्वास लिइएको छ। कार्यक्रममा परवानीपुर ट्राफिक प्रहरी बिटका इन्चार्ज इन्द्र मगर, पत्रकार अभिलाष गुप्ता तथा तिवारी यादवको पनि उपस्थिति रहेको थियो।
यसै क्रममा, ट्राफिक सप्ताहको पाँचौं दिन वीरगञ्जस्थित ब्राइट पब्लिक स्कूल र मुनलाईट स्कूलका विद्यार्थीहरूले पनि सक्रिय सहभागिता जनाएका थिए। उनीहरूलाई व्यस्त चोकहरूमा खटाई पैदल यात्रुहरूलाई जेब्रा क्रसिङ प्रयोग गर्न, सहि दिशा र सडक पेटीबाट हिँड्न प्रेरित गरिएको थियो। साथै, विद्यार्थीहरूले ट्राफिक शिष्टाचारसम्बन्धी पर्चा तथा पम्पलेट वितरण गरी सर्वसाधारणलाई जानकारी गराएका थिए।

आयोजकका अनुसार यस्ता जनमुखी तथा व्यवहारमैत्री कार्यक्रमहरूले ट्राफिक नियमप्रति नागरिकमा चेतना जागृत गराउने र सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ। ट्राफिक सप्ताहका बाँकी दिनहरूमा समेत थप जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ।









