अभिलाष गुप्ता
जेष्ठ २६ बिरगंज
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ स्थित जमुनिया खोलाबाट अवैध रुपमा गिट्टी र बालुवा उत्खनन् गरी लैजाँदै गरेका दुई वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार बिहान जमुनिया खोलाबाट गिट्टी र बालुवा लोड गरी निकासी गर्ने क्रममा प्रहरीले ती ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको हो। गिट्टी लोड गरिएको प्रदेश २–०३–००१ त १५७ नम्बरको ट्याक्टर र बालुवा लोड गरिएको प्रदेश २–०३–००१ च १२९२ नम्बरको ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
नियन्त्रणमा लिइएका ट्याक्टरहरू हाल ईलाका प्रहरी कार्यालयको परिसरमा राखिएको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ। यस घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको पनि जनाइएको छ।
प्राकृतिक स्रोतको अवैध उत्खनन् नियन्त्रण गर्न प्रहरी सक्रिय बन्दै गएको समयमा प्रहरीले देखाएको सक्रियतालाई स्थानीयहरूले सकारात्मक रूपमा लिएका छन्।









