जिराभवानी गाउँपालिकाको १५औं गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाको केन्द्र सेढवास्थित कार्यपालिकाको सभाकक्षमा आयोजित सभामा आर्थिक वर्ष २०८२/८३ का लागि ३४ करोड १० लाख ४९ हजार ५२८ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको हो।
गाउँसभामा उपाध्यक्ष रेखा चौधरीले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्दै समावेशी विकास, नागरिकमुखी सेवा तथा दिगो पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई सन्तुलितरूपमा सम्बोधन गरिने बताइन्।
सभामा बोल्दै गाउँपालिका अध्यक्ष अनोज चौधरीले कृषिको आधुनिकीकरण, पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्यको गुणस्तर सुधार, सामाजिक सुरक्षाको सुदृढीकरण र रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकता दिइएको उल्लेख गरे। साथै, विकासको गति बढाउन सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले स्थानीय तहहरू जनताको प्रत्यक्ष सरोकारको निकाय भएकाले सेवा प्रवाहमा थप जिम्मेवारी बढेको बताए। उनले संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान अघिल्ला वर्षहरूको तुलनामा कटौती भएको जानकारी दिँदै स्रोतसाधन परिचालन र स्थानीय राजस्व संकलनमा जनताको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे।
सभामा पाँचवटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, वडा सदस्य, राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा, कर्मचारी लगायतको उल्लेख्य सहभागिता रहेको शिक्षा शाखा प्रमुख शिवराज फुयाँलले जानकारी दिए।









