२०८२ चैत्र ११ गते बुधबार

विज्ञानको प्रयोगशालामा कक्षा ७ (अर्चिड) को विद्यार्थी द्वारा रोमाञ्चक खोज

 

वीरगञ्जस्थित साउथजोन माध्यमिक विद्यालयमा अध्ययनरत अर्चिड ग्रुपका कक्षा ७ का विद्यार्थीहरूले हालै एउटा रोचक र शिक्षाप्रद वैज्ञानिक प्रयोग सफलतापूर्वक सम्पन्न गरेका छन्। विज्ञान शिक्षक रोशन शेखको मार्गदर्शनमा विद्यार्थीहरूले “के जलनका लागि अक्सिजन आवश्यक हुन्छ?” भन्ने विषयमा व्यावहारिक प्रयोग गर्दै विज्ञानलाई प्रत्यक्ष रूपमा अनुभव गरेका छन्।

प्रयोगमा विद्यार्थीहरूले एक जलिरहेको मैनबत्तीलाई काचको जारले ढाकेर अक्सिजनको आपूर्ति रोक्ने प्रयास गरे। केही सेकेन्डमै ज्योति निभिएको देखेर उनीहरूले निष्कर्ष निकाले कि अक्सिजन बिना आगो टिक्न सक्दैन।

“जब अक्सिजन हटाइयो… ज्योति तुरुन्त निभ्यो” विद्यार्थीहरूको सामु विज्ञानको एउटा गहिरो सत्य उद्घाटित भयो।

“अर्चिड समूहमा हामी विज्ञानलाई केवल किताबी ज्ञानको रूपमा होइन, जीवनको हिस्सा बनाई सिक्छौं। प्रत्येक प्रयोगले नयाँ कुरा सिकाउँछ र सोच्ने तरिका फरक बनाउँछ,” शिक्षक रोशन शेखले बताए।

यस कार्यक्रमले विद्यार्थीहरूमा जिज्ञासा र अन्वेषणशीलताको विकास गर्नुका साथै ‘Learning by Doing’ (गर्दै सिक्ने) विधिको महत्त्व उजागर गरेको विद्यालय प्रशासनले जनाएको छ।

प्रयोगको क्रममा विद्यार्थीहरूको उत्साह, अनुहारमा झल्किएको आश्चर्य र बुझाइको चमकले कार्यक्रमलाई जीवन्त बनाएको थियो।यस अवसरमा विद्यालयले विज्ञानलाई बालबालिकाको रुचिको विषय बनाउन यस्ता प्रयोगात्मक शिक्षण गतिविधिहरूलाई निरन्तरता दिने बताएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM