प्रसौनी उद्योग वाणिज्य संघ, बारा सहित विभिन्न सहयोगी संस्थाहरूको संयुक्त आयोजनामा तथा भारतीय महावाणिज्य दूतावास, वीरगंजका डि.एस. मिन्नाको प्रमुख आतिथ्यमा एक भव्य खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल रेडक्रस सोसाइटी, वीरगंज शाखाका सभापति बृजकिशोर पटेल तथा वीरगंज रक्त संचार केन्द्रका प्रमुख सौरभ राज पाण्डेको उपस्थिति रहेको थियो।
स्थानीय प्रसौनी चौकमा आयोजित यस रक्तदान कार्यक्रमले समाजमा रक्तदानप्रतिको चेतना र मानवीय सेवा भावनालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रममा कुल ९१ जना रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। रक्तदाताहरूमा युवादेखि वृद्धसम्म, महिला तथा विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रममा आयोजक संस्थाहरूले रक्तदाताहरू, सञ्चारकर्मीहरू, स्वास्थ्यकर्मीहरू तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै हातहरूलाई आभार र धन्यवाद व्यक्त गरेका छन्।
प्रसौनी उद्योग वाणिज्य संघले समाजमा रक्तदानजस्तो महत्वपूर्ण कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै, आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने योजना रहेको जानकारी दिएको छ।



















