नेपाल पत्रकार महासंघ मधेश प्रदेशले जनकपुरधाम उपमहानगरपालिका–स्थित श्रीराम मन्दिर गुठीको ४ कट्ठा बहुमूल्य जग्गा प्राप्त गरेको छ। यस निर्णयसँगै महासंघले भवन निर्माणको प्रक्रिया तीव्र रूपमा अघि बढाउने तयारी गरिरहेको महासंघका अध्यक्ष श्याम बन्जराले जानकारी दिनुभयो। प्रमुख सहरको केन्द्रमा प्राप्त यो जग्गा पत्रकारिता क्षेत्रको लागि ऐतिहासिक उपलब्धि भएको महासंघले जनाएको छ।
जग्गा प्राप्ति प्रक्रियामा देखिएका कठिनाइ, विरोध र बाधाहरूलाई पार गर्दै गरिएको यो प्रयास पत्रकार महासंघको पवित्र उद्देश्य र अथक मेहनतको नतिजा भएको अध्यक्ष बन्जराले बताए। विरोध गर्नेहरूप्रति समेत धन्यवाद व्यक्त गर्दै, ती आवाजहरूले आफूहरूलाई अझ सशक्त र दृढ बनाएको महासंघको भनाइ छ।
यस क्रममा मधेश प्रदेशका सञ्चार, कानून तथा गृहमन्त्रीको आलोचनात्मक टिप्पणीलाई महासंघले तत्कालीन रुपमा नकारात्मक भएपनि, यसले जग्गा प्राप्तिको प्रेरणा थपेको जनाएको छ। महासंघले नेपाल पत्रकार महासंघ केन्द्र, महासचिव रामप्रसाद दाहाल, केन्द्रीय लेखा संयोजक के.सी. लामिछाने, प्रदेश सल्लाहकार राजेश कर्ण, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, अच्युत पौडेल, प्रेस सेन्टरका गोविन्द देवकोटा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगायतको उल्लेखनीय योगदानको प्रशंसा गरेको छ।
भवन निर्माणको खर्चका विषयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंह र भौतिक पूर्वाधार मन्त्री सरोज यादवले कुनै कञ्जुस्याँई नगर्ने प्रतिबद्धता जनाएका छन्। साथै, महासंघका उपाध्यक्ष अम्बिका दाहाल, महासचिव शैलेन्द्र क्रान्ति, उपाध्यक्ष ज्योति झा, सचिव हदिश खुदार, कोषाध्यक्ष अनिल गौरव, दिपक गौतिमसहित कार्यसमितिका सम्पूर्ण सदस्य र सबै सञ्चारकर्मीहरूको भूमिकाको खुलेर प्रशंसा गरिएको छ।
महासंघले केन्द्र, प्रदेश तथा जिल्लास्तरीय सञ्चार नेतृत्व, पत्रकार, शुभेच्छुक, संचार संस्थाहरू र गुठीका सम्पूर्ण कर्मचारीहरूप्रति आभार व्यक्त गर्दै, यो सफलता समग्र नेपाली पत्रकारिता क्षेत्रकै साझा जीत भएको उल्लेख गरेको छ।

















