राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले वीरगञ्जमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। शनिबार क्लासिक बेन्क्वेट हलमा सम्पन्न कार्यक्रममा ७ महिला सहित कुल १११ जनाले रक्तदान गरेका छन्।
वीरगञ्ज क्षेत्रमा रगत अभाव भइरहेको अवस्थामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले सहभागिता जनाउँदै मानवता प्रवर्द्धनमा योगदान दिएका थिए। कार्यक्रममा बिन्दा कुमारी, शान्ति मोक्तान, दीपक कुमार सिंह, चन्दन कुमार पण्डित, निजामुदिन अन्सारी, राजकुमार सहनी, शेख मजीद, सुनिल कुमार चौधरी लगायतले रक्तदान गरेका थिए।
कार्यक्रम रास्वपा पर्साका अध्यक्ष तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त) को विशेष आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, शैक्षिक सहिद मुकुन्द खनाल प्रतिष्ठान पर्साका सभापति मुना खनाल, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, एलोकल नेपाल खबरका सञ्चालक युवराज केसरी, कार्यक्रम संयोजक शिक्षाविद् मार्टिन मोक्तान, रास्वपा पर्साका उपाध्यक्ष तुलसा पौडेल, सचिव सुदिस प्रजापति, वीरगञ्ज महानगर अध्यक्ष अमन आलम, सचिव गौतम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा सांसद पन्तले वीरगञ्ज क्षेत्रमा रगतको अभाव भएको जानकारी पाएपछि छोटो समयमै कार्यक्रम आयोजना गरिएको बताए। उनले रक्तदानले दिने व्यक्तिलाई कुनै घाटा नहुने तर लिनेको जीवन बचाउने भएकाले प्रत्येक तीन महिनामा रक्तदान गर्न सबैलाई आग्रह गरे।
त्यस्तै, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति पटेलले हाल वीरगञ्जको रक्तसञ्चार केन्द्रमा रगत अभाव हुँदा नारायणी अस्पताललगायत विभिन्न अस्पतालमा उपचारमा समस्या भइरहेको बताए। यस्तो अवस्थामा कार्यक्रम आयोजना गरी मानवता बलियो बनाएको भन्दै उनले रास्वपा पर्सा परिवारप्रति धन्यवाद व्यक्त गरे। उनले रक्तदातालाई समाजका वास्तविक नायकको संज्ञा पनि दिए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यसमिति महिला सदस्य मुना खनाल तथा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेयको नेतृत्वमा रेडक्रस, वीरगञ्ज नर्सिङ क्याम्पस र हिमाल इन्स्टिच्युट नर्सिङ कलेजका स्वयंसेवक टोलीले रक्तदान कार्यमा सहजीकरण गरेका थिए।








