अभिलाष गुप्ता
वीरगञ्ज, २९ असार

आज भानु जयन्तीको अवसर मा सामाजिक ऐक्यबद्धताको आह्वानवीरगञ्जको ऐतिहासिक तथा सांस्कृतिक गौरवको केन्द्र श्री गहवा माई मन्दिरको आगामी असार ३२ गते र श्रावण १ गते हुन गइरहेको “चौथो विशाल रथयात्रा तथा पावन धार्मिक महोत्सव-२०८३” को पावन अवसरमा विश्व ज्योतिष महासङ्घका एसिया उपसभापति एवं बृहस्पति फाउन्डेसन नेपालका अध्यक्ष ‘ज्योतिष सम्राट’ डा. पुरुषोतम दुबेले सम्पूर्ण सनातन धर्मावलम्बी एवं आम नागरिक समाजमा हार्दिक शुभकामना व्यक्त गर्दै विशेष आमन्त्रण गर्नुभएको छ। आदिकवि भानुभक्त जयन्तीको गौरवमय अवसरमा एक विशेष सन्देश जारी गर्दै डा. दुबेले यस ऐतिहासिक महोत्सवमा सक्रिय सहभागिताका लागि वीरगञ्जका सम्पूर्ण सङ्घ-संस्था र नगरवासीहरूमा हार्दिक अपिल गर्नुभएको हो।
ज्योतिषीय एवं आध्यात्मिक दृष्टिकोणले असार मसान्त र श्रावण संक्रान्तिको यो समय (मिथुन राशिबाट कर्कट राशिमा सूर्यको प्रवेश) ब्रह्माण्डीय ऊर्जा संचय र धार्मिक अनुष्ठानका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको चर्चा गर्दै डा. दुबेले श्री गहवा माई वीरगञ्ज र सिंगो मधेश प्रदेशकै जनआस्थाकी सर्वोच्च केन्द्र मात्र नभएर शक्तिकी महास्रोत भएको उल्लेख गर्नुभयो। सूर्यको यस संक्रमणकालमा गरिने देवी साधना, रथोत्सव र महाप्रसाद ग्रहणले मानव जीवनमा व्याप्त नकारात्मक ऊर्जालाई नष्ट गरी मानसिक शान्ति, आरोग्य र समृद्धि प्रदान गर्ने शास्त्रीय मान्यता रहेको उहाँको भनाइ छ। असार ३२ गते बिहीबार बिहान ठीक ७:३० बजे मन्दिर प्राङ्गणबाट सुरु हुने रथयात्राको मुख्य मार्गमा आकाशबाट हेलिकप्टरद्वारा गरिने पुष्प वर्षाको विशेष आकर्षण रहने र सोही दिन साँझ ६:०० बजेदेखि भव्य भजन सन्ध्याको आयोजना हुने भएकाले यस देवलोक जस्तै पवित्र उत्सवको दर्शन गरी पुण्य कमाउन उहाँले सबैमा आग्रह गर्नुभयो।
त्यसैगरी, श्रावण १ गते बिहान ६:०० बजेदेखि आयोजना हुने ५६ भोग महापूजा र दिउँसो ४:०० बजेदेखि सुरु हुने विशाल महाप्रसाद भण्डाराको विशेष महिमा औंल्याउँदै डा. दुबेले भण्डारामा महाप्रसाद ग्रहण गर्नु भनेको माता रानीको असीम कृपा र अमृत स्वरूप प्रसाद ग्रहण गर्नुभए सरह रहेको र यसले आत्मा तथा शरीर दुवैलाई पवित्र तुल्याउने विश्वास व्यक्त गर्नुभयो। लाखौँ श्रद्धालु भक्तजनहरू सहभागी हुने यस विशाल भण्डारा र रथयात्रा कार्यक्रमलाई मर्यादित, शान्तिपूर्ण र सुव्यवस्थित बनाउन उहाँले सम्पूर्ण नगरवासीलाई आह्वान गर्नुभएको छ।
आदिकवि भानुभक्त आचार्यले रामायणमार्फत नेपाली समाजलाई सांस्कृतिक रूपमा जोडे जस्तै श्री गहवा माईको यो रथयात्रा र भण्डाराले सम्पूर्ण नागरिक समाजमा आपसी भाइचारा र धार्मिक ऐक्यबद्धता कायम गर्ने विश्वास डा. दुबेले व्यक्त गर्नुभएको छ। उहाँले वीरगञ्जका सम्पूर्ण सामाजिक, धार्मिक, व्यावसायिक सङ्घ-संस्था, बुद्धिजीवी एवं आम नगरवासीहरूलाई रथयात्राको दिन आ-आफ्नो घर र व्यापारिक प्रतिष्ठान अगाडि कलश, तोरण र दीप प्रज्वलन गरी माताको भव्य स्वागत गर्न तथा श्रद्धालुहरूका लागि खानेपानी, सर्वत जस्ता सेवामूलक कार्यहरू गरी सहयोग पुर्याउन विशेष आमन्त्रण गर्नुभएको छ। देश-विदेशमा रहनुभएका समस्त श्रद्धालु भक्तजनहरूमा भानु जयन्तीको शुभकामना दिँदै डा. पुरुषोतम दुबेले माता गहवा माईको आशीर्वाद सबैमा बनिरहोस् भनी मङ्गलमय कामना गर्नुभएको छ।
आजको कार्यक्रम मा श्री गहवा माई रथ यात्रा को संयोजक बसंत गुप्ता, विकास समिति का उपाध्यक्ष देवांनंद कलवार, सचिव पप्पु गुप्ता, कोषाध्यक्ष रवि अग्रवाल, पदाधिकारी एवं सदस्यहरु मा दिपु गुप्ता, आकाश गिरी, राजन कुमार गुप्ता,राहुल रौनियार लगायत शुभकामना कार्यक्रम मा उपस्थिति रहेका थिए |
























