२०८३ श्रावण १० गते आईतवार

गहवामाई मन्दिर क्षेत्रमा मिठाई पसलको अनुगमन : २५ केजी लड्डु नष्ट, तीन फर्मलाई ६० हजार रुपैयाँ जरिवाना

अभिलाष गुप्ता
वीरगञ्ज, ३१ असार

वीरगञ्जस्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र श्री गहवामाई मन्दिर क्षेत्रमा बिक्री वितरण भइरहेका लड्डु तथा अन्य मिठाईको गुणस्तर परीक्षणका क्रममा खाद्य स्वच्छतासम्बन्धी गम्भीर लापरवाही भेटिएको छ। संयुक्त अनुगमन टोलीले ढुसी लागेको लड्डु, अत्यधिक कृत्रिम रङ मिसाइएको मिठाई तथा अस्वच्छ वातावरणमा उत्पादन भइरहेको भेटिएपछि २५ केजी लड्डु जफत गरी नष्ट गर्नुका साथै तीन वटा फर्मलाई जनही २० हजार रुपैयाँका दरले जरिवाना गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्ज, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, जिल्ला प्रशासन कार्यालय पर्सा, उपभोक्ता हित संरक्षण मञ्च नेपाल तथा सञ्चारकर्मीहरूको संयुक्त टोलीले गहवामाई मन्दिर आसपास रहेका मिठाई पसल तथा उद्योगहरूको अनुगमन गरेको हो।

अनुगमनका क्रममा केही पसल तथा उद्योगको किचेन अत्यन्तै अस्वच्छ अवस्थामा रहेको, बिक्रीका लागि राखिएका लड्डुमा ढुसी लागेको तथा लड्डुमा अत्यधिक मात्रामा कृत्रिम रङ प्रयोग गरिएको पाइएको टोलीले जनाएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने सम्भावना देखिएपछि तीन वटा फर्मबाट करिब २५ केजी लड्डु जफत गरी तत्काल नष्ट गरिएको हो।

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जनही २० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। यसका साथै माईस्थानस्थित आस्था मिष्ठान भण्डार मा रहेको गुणस्तरहीन लड्डु समेत नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ।

अनुगमन टोलीले सम्बन्धित व्यवसायीहरूलाई भविष्यमा यस्ता कमजोरी नदोहोर्याउन, खाद्य उत्पादन तथा बिक्री वितरणका क्रममा सरसफाइ, स्वच्छता र गुणस्तरसम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ। साथै उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्य पदार्थ उत्पादन तथा बिक्रीमा कुनै पनि प्रकारको लापरवाही सह्य नहुने चेतावनी समेत दिएको छ।

गहवामाई मन्दिर क्षेत्रमा वर्षभरि नै पूजा, धार्मिक अनुष्ठान तथा विशेष पर्वका अवसरमा हजारौं भक्तजनको आवागमन हुने भएकाले त्यहाँ बिक्री हुने लड्डु, पेडा तथा अन्य प्रसादजन्य मिठाईको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने स्थानीय उपभोक्ताहरूको भनाइ छ।

स्थानीयवासी तथा उपभोक्ताहरूले धार्मिक आस्थासँग जोडिएका स्थानहरूमा चाडपर्व वा विशेष अवसरमा मात्र नभई वर्षभरि नै नियमित र प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। नियमित अनुगमनबाट उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित हुनुका साथै व्यवसायीहरू पनि गुणस्तरीय तथा स्वच्छ खाद्य वस्तु उत्पादन र बिक्री गर्न थप जिम्मेवार बन्ने विश्वास उनीहरूले व्यक्त गरेका छन्।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM