पर्साको वीरगञ्जमा सशस्त्र प्रहरी बलले विशेष सूचनाका आधारमा गरेको छापामारीमा भन्सार छली गरी भण्डारण गरिएका तथा अवैध रूपमा ओसारपसार गर्न लागिएका गरी करिब साढे चार लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका अनुसार वीरगञ्ज महानगरपालिका १६ फुलबारी टोलस्थित उषा अधिकारीको तीनतले पक्की घरमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान लुकाएर राखिएको भन्ने गोप्य सूचनापछि सीमा सुरक्षा गुल्म वीरगञ्ज भन्सार बाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिसँग संयुक्त रूपमा खानतलासी गरेको थियो।

घरका ११ वटा कोठामा गरिएको खोजतलासका क्रममा २ हजार ८४८ मिटर टेबल पोस (टेन्ट टेबलका लागि प्रयोग हुने कपडा), १३ थान रेडिमेड टेबल पोस तथा ३५ प्याकेट एयर कन्डिसनर स्ट्यान्ड बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामानको अनुमानित मूल्य करिब ३ लाख ५० हजार रुपैयाँ रहेको छ। ती सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
यसअघि असार ३० गते राति वीरगञ्ज महानगरपालिका–१६ भन्सार टोल क्षेत्रमा सञ्चालन गरिएको नियमित गस्तीका क्रममा भारततर्फ अवैध रूपमा लैजान तयारी अवस्थामा रहेको ३३ कार्टुन (६२० किलोग्राम) स्याउ पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। बरामद स्याउको अनुमानित मूल्य ६३ हजार ५ सय रुपैयाँ रहेको छ। उक्त स्याउ पनि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
























