२०८३ श्रावण १० गते आईतवार

बीआरएबीयूमा प्रो. डा. रजनीश कुमार गुप्तालाई अतिरिक्त जिम्मेवारी, अब विश्वविद्यालयको प्रोक्टरको जिम्मेवारी पनि सम्हाल्ने

रक्सौल/मुजफ्फरपुर

बाबासाहेब भीमराव अम्बेडकर बिहार विश्वविद्यालय (बीआरएबीयू), मुजफ्फरपुरले महत्वपूर्ण प्रशासनिक निर्णय गर्दै विश्वविद्यालयको कलेज विकास परिषद् (सी.सी.डी.सी.) का प्रो. डा. रजनीश कुमार गुप्ता लाई विश्वविद्यालयको प्रोक्टर पदको अतिरिक्त जिम्मेवारी प्रदान गरेको छ।

विश्वविद्यालयद्वारा जारी आदेशअनुसार प्रो. डा. गुप्ताले हाल सम्हाल्दै आएको सी.सी.डी.सी.को जिम्मेवारीसँगै अब प्रोक्टरको दायित्व पनि निर्वाह गर्नेछन्। उनी रक्सौलका प्रतिष्ठित समाजसेवी भरत प्रसाद गुप्ताका कान्छा सुपुत्र हुन्।

विश्वविद्यालयको यस निर्णयलाई शैक्षिक गुणस्तर, प्रशासनिक दक्षता तथा विश्वविद्यालय परिसरको अनुशासन व्यवस्थालाई अझ प्रभावकारी बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। अतिरिक्त जिम्मेवारी पाएसँगै प्रो. डा. गुप्ताले विश्वविद्यालयका विकास निर्माणका कार्यसँगै परिसरको सुरक्षा, अनुशासन, कानुन–व्यवस्था तथा प्रशासनिक समन्वयको जिम्मेवारी पनि सम्हाल्नेछन्।

सी.सी.डी.सी.का रूपमा उनको मुख्य दायित्व विश्वविद्यालयसँग आबद्ध कलेजहरूको विकास, शैक्षिक गतिविधिको समन्वय तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिसँग सम्बन्धित रहेको छ। त्यस्तै, प्रोक्टरका रूपमा विश्वविद्यालय परिसरमा अनुशासन कायम राख्ने, सुरक्षा व्यवस्था सुनिश्चित गर्ने, कानुन–व्यवस्थाको निगरानी गर्ने तथा प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउने जिम्मेवारी रहनेछ।

विश्वविद्यालय प्रशासनले प्रो. डा. रजनीश कुमार गुप्ताको प्रशासनिक अनुभव, नेतृत्व क्षमता तथा कार्यदक्षताले यी दुवै महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक व्यवस्थालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

बधाई तथा शुभकामनाको ओइरो

प्रोक्टरको अतिरिक्त जिम्मेवारी प्राप्त गरेपछि भारत विकास परिषद्, शाखा–रक्सौलका अध्यक्ष रजनीश प्रियदर्शी, सेवा संयोजक तथा मिडिया प्रभारी बिमल कुमार सर्राफ, टेक्सटाइल चेम्बर अफ कमर्सका अध्यक्ष अरुण कुमार गुप्ता, महासचिव आलोक कुमार श्रीवास्तव लगायत शिवपूजन प्रसाद, नारायण प्रसाद, भैरव गुप्ता, रमेश कुमार, राजकुमार रौनियार, मुरारी गुप्ता, शम्भु प्रसाद चौरसिया, नारायण रुंगटा, प्रभु शंकर प्रसाद, मदन गुप्ता सहित विभिन्न शिक्षाविद्, समाजसेवी तथा शुभेच्छुकहरूले हर्ष व्यक्त गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

उनीहरूले प्रो. डा. गुप्ताको नेतृत्वमा विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक व्यवस्था अझ व्यवस्थित, प्रभावकारी र सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM