२०८३ श्रावण १० गते आईतवार

तेरापंथ युवक परिषद् बीरगञ्जको ‘ब्लड अन कल’ अभियान : दुई दिनमा दुई बिरामीलाई जीवनदायी रगत

अभिलाष गुप्ता
वीरगञ्ज, ५ साउन

तेरापंथ युवक परिषद् (तेयुप) बीरगञ्जले लगातार दुई दिनमा सञ्चालन गरेको आपतकालीन ‘ब्लड अन कल’ अभियानमार्फत एक नवजात शिशु र एक सुत्केरी महिलाका लागि आवश्यक रगतको व्यवस्था गर्दै मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

परिषद्का अनुसार साउन ३ गते नेशनल मेडिकल कलेजमा उपचाररत श्रीमती रामपति देवीका ९ दिनका नवजात शिशुका लागि बी–पोजिटिभ (B+) समूहको एक युनिट रगतको अत्यावश्यक आवश्यकता परेको थियो। जानकारी प्राप्त हुनासाथ ‘ब्लड अन कल’ अभियानका संयोजक आशीष चौरडियाले तत्काल रक्तदातासँग समन्वय गरी आवश्यक रगतको व्यवस्था गरेका थिए। त्यसक्रममा रक्तदाता करण शर्मा राति करिब ११ः३० बजे ब्लड बैंक पुगेर रक्तदान गरेपछि शिशुको उपचारका लागि आवश्यक रगत उपलब्ध भएको परिषद्ले जनाएको छ।

त्यसैगरी साउन ४ गते श्री राम अस्पतालमा उपचाररत ३० वर्षीया प्रीति यादवको सुत्केरी उपचारका क्रममा पनि बी–पोजिटिभ (B+) समूहको एक युनिट रगत आवश्यक परेको थियो। परिषद्ले पंकज बैदको सहयोगमा पुनः ‘ब्लड अन कल’ अभियानमार्फत रक्तदाताको व्यवस्थापन गरेको थियो। सो क्रममा निर्मल सिंघानिया ब्लड बैंक पुगेर रक्तदान गर्दै बिरामीका लागि आवश्यक रगत उपलब्ध गराएका थिए।

तेरापंथ युवक परिषद् बीरगञ्जले दुवै रक्तदाताप्रति हार्दिक आभार व्यक्त गर्दै समयमै गरिएको रक्तदानले नवजात शिशु र सुत्केरी महिलाको उपचारमा महत्वपूर्ण सहयोग पुगेको जनाएको छ।

परिषद्ले रक्तदानलाई सबैभन्दा ठूलो मानवीय सेवा भएको उल्लेख गर्दै आवश्यक पर्दा रक्तदान गर्न इच्छुक व्यक्तिहरूलाई सदैव तयार रहन आग्रह गरेको छ। साथै, ‘ब्लड अन कल’ अभियानमार्फत आकस्मिक अवस्थामा बिरामीलाई समयमै रगत उपलब्ध गराउने अभियानलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता पनि जनाएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM