सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले सीमा क्षेत्रमा निगरानी कडा बनाउँदै एकै दिन विभिन्न स्थानबाट २१ लाख ३९ हजार ६५५ रुपैयाँ बराबरका अवैध सामान तथा ओसारपसारमा प्रयोग भएका सवारीसाधन बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका १७ अलौस्थित सीमा सुरक्षा गुल्मबाट खटिएको मोबाइल गस्ती टोलीले भारतबाट भन्सार छली नेपाल भित्र्याइँदै गरेको प्र.२–०३–००१ स ६०९७ नम्बरको ई–लोडर नियन्त्रणमा लिएको हो। ई–लोडरमा करिब १२ लाख ७५ हजार रुपैयाँ बराबरका आठ कार्टुन भिटामिन औषधि बरामद गरिएको छ। साथै ना.२६ प २०१८ नम्बरको मोटरसाइकलमार्फत ल्याइँदै गरेको ३१ हजार ९१५ रुपैयाँ बराबरको किराना सामान पनि नियन्त्रणमा लिइएको छ।

बरामद गरिएको ई–लोडरको अनुमानित मूल्य ४ लाख रुपैयाँ र मोटरसाइकलको मूल्य २ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। यस घटनामा मात्रै सवारीसाधनसहित १९ लाख ६ हजार ९१५ रुपैयाँ बराबरको सामान बरामद भएको छ।
यस्तै, वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटमा चेकजाँचका क्रममा भारतबाट ल्याइँदै गरेको बिलविजक नभएको १ लाख ४५ हजार ४ सय रुपैयाँ बराबरको ESSDEE ब्रान्डका कपडा, स्टेशनरी सामग्री तथा हार्मोनियम बरामद गरिएको छ।
यसैगरी बिन्दवासिनी गाउँपालिका–३ झौवागुठीस्थित बीओपी अमरपट्टीबाट खटिएको टोलीले चारवटा साइकलमा अवैध रूपमा ल्याइँदै गरेको ४७ हजार २०० रुपैयाँ बराबरका मोटर पार्ट्स, कपडा तथा किराना सामान र ८ हजार रुपैयाँ मूल्यका साइकलसहित जम्मा ५५ हजार २०० रुपैयाँ बराबरका सामग्री नियन्त्रणमा लिएको छ।
छिपहरमाई गाउँपालिका ५ भिस्वास्थित बीओपी भिस्वाबाट खटिएको टोलीले पनि ३२ हजार १४० रुपैयाँ बराबरका कस्मेटिक तथा किराना सामान बरामद गरेको जनाएको छ।
बरामद गरिएका सबै सामान तथा सवारीसाधन आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।
























