२०८३ श्रावण १० गते आईतवार

कादम्बरी एकेडेमीमा विद्यार्थी घाइते, अभिभावकद्वारा प्रहरीमा उजुरी

वीरगञ्ज, ८ साउन। वीरगञ्जस्थित कादम्बरी एकेडेमीमा अध्ययनरत एक विद्यार्थी विद्यालय समयमै घाइते भएको घटनालाई लिएर उनका अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन्।

वीरगञ्ज महानगरपालिका–१० निवासी सोनालाल प्रसाद मलाह (साहनी) ले आफ्ना छोरा आलोक कुमार साहनीको सुरक्षामा विद्यालय व्यवस्थापनले गम्भीर लापरवाही गरेको आरोप लगाउँदै इमेलमार्फत जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखामा निवेदन दर्ता गराएका हुन्।

उजुरीअनुसार कक्षा ५ मा अध्ययनरत आलोक कुमार साहनी शुक्रबार विद्यालयको जिम्मेवारीमा रहेको समयमा आँखामा गम्भीर चोट लागेर घाइते भएका थिए। घटनाका कारण बालकको दृष्टिसमेत जोखिममा पर्ने अवस्था सिर्जना भएको अभिभावकको दाबी छ।

निवेदनमा विद्यालयले विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न आवश्यक सावधानी अपनाउन नसकेको आरोप लगाइएको छ। साथै, घटनापछि विद्यालयका निर्देशक दीपक तुल्स्यानसँग गम्भीर चासो व्यक्त गर्दा विद्यालयले कुनै पनि घटनाको जिम्मेवारी नलिने तथा बच्चाको सुरक्षाप्रति चिन्ता भए अर्को विद्यालयमा सार्न सकिने प्रतिक्रिया दिएको आरोपसमेत अभिभावकले लगाएका छन्।

घटनाबाट बालकले गम्भीर शारीरिक चोट व्यहोरेको र त्यसको पुष्टि हुने तस्बिरसमेत उजुरीसँग संलग्न गरिएको जनाइएको छ।

अभिभावक सोनालाल प्रसाद मलाह (साहनी)ले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न प्रहरीसँग माग गरेका छन्।

उक्त निवेदनको बोधार्थ वीरगञ्ज महानगरपालिकाको शिक्षा महाशाखा तथा कादम्बरी एकेडेमीका प्रधानाध्यापकलाई समेत पठाइएको जनाइएको छ।

यद्यपि, यस विषयमा विद्यालय व्यवस्थापनको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी रहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले उजुरीका आधारमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने जनाएको छ।

– सम्भार: यात्रा डेली

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM