पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य (सांसद) सुशील साह कानुले वर्षौंदेखि जीर्णोद्धारको पर्खाइमा रहेको वीरगञ्जको नारायणी रंगशाला र टी.बी. शाह क्रिकेट मैदानका लागि विशेष प्याकेजसहितको बजेट उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद कानुले मुलुकको अर्थतन्त्रमा वीरगञ्जले महत्वपूर्ण योगदान पुर्याउँदै आए पनि खेलकुद पूर्वाधारका क्षेत्रमा भने वीरगञ्ज अझै उपेक्षित रहेको बताए।
उनले देशकै दोस्रो ठूलो नारायणी रंगशालाको जीर्णोद्धार तथा सोही परिसरमा रहेको टी.बी. शाह क्रिकेट मैदानको निर्माणमा सरकारले पर्याप्त ध्यान दिन नसकेको गुनासो गरे। नारायणी रंगशालाको जीर्णोद्धार तथा स्तरोन्नतिका लागि २५ करोड रुपैयाँ विनियोजन गरेकोमा सरकारलाई धन्यवाद दिँदै उनले उक्त रकम पर्याप्त नभएको बताए।
आगामी ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत ध्यानमा राख्दै टी.बी. शाह क्रिकेट मैदान निर्माणका लागि आवश्यक बजेट तत्काल सुनिश्चित गर्न उनले सरकारसँग माग गरे।
सांसद कानुले नारायणी रंगशाला तथा क्रिकेट मैदानका लागि आवश्यक जग्गाको मुआब्जासम्बन्धी विषय पनि यथाशीघ्र टुंग्याउन आग्रह गरे। सम्बन्धित जग्गाधनीहरू सरकारले तोकेको मुआब्जा रकम लिएर आफ्नो जग्गा छाड्न तयार भए पनि मुआब्जा रकम यकिन गर्नुपर्ने फाइल एक वर्षदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा रोकिएको उनले बताए।
जग्गा मुआब्जाको प्रक्रिया लामो समयसम्म अल्झिँदा रंगशाला तथा क्रिकेट मैदानसँग सम्बन्धित पूर्वाधार विकासका काम प्रभावित भइरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद कानुले उक्त विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए।
























