२०८३ आश्विन २० गते मंगलवार

नेशनल मेडिकल कलेज प्रकरणः रहबर अन्सारीकाे आरोप, बसरुद्धिनसँगको सम्बन्ध र पीजी आन्दोलनबारे उठेका प्रश्न।

 

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले प्रतिनिधिसभामा गम्भीर आरोप लगाएपछि ती आरोपको प्रमाणसँगै उनको पारिवारिक तथा व्यावसायिक पृष्ठभूमि, बसरुद्धिन अन्सारीसँगको सम्बन्ध तथा पीजी प्रथम वर्षका आवासीय चिकित्सकहरूको आन्दोलनबीच कुनै समन्वय छ कि छैन भन्ने प्रश्न उठेको छ । सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेजमा करिब २५ जना ‘फेक फ्याकल्टी’ देखाएर स्नातकोत्तर तहका सिट प्राप्त गरिएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा सुरक्षागार्डलाई बिरामी बनाएर राखिएको तथा ‘नक्कली बिरामी’ र ‘नक्कली निरीक्षण’का माध्यमबाट प्रक्रिया प्रभावित पारिएको दाबी गर्दै संसदमा बोलेका थिए ।

तर, सांसद रहबर अन्सारीले लगाएका यी गम्भीर आरोप पुष्टि गर्ने सम्बन्धित नियामक निकायको कुनै आधिकारिक निष्कर्ष हालसम्म सार्वजनिक भएको छैन । नेशनल मेडिकल कलेजले पनि विज्ञप्तिमार्फत आरोपलाई अस्वीकार गर्दै आफू लामो समयदेखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुँदै आएको र चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय लगायत सम्बन्धित निकायको नियमित नियमन तथा अनुगमनमा रहेको जनाएको छ । नेशनल मेडिकल कलेज सन् २००१ देखि वीरगञ्जमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको संस्था हो । करिब २५ वर्षको अवधिमा कलेजबाट चिकित्सा विज्ञानका विभिन्न विधामा २ हजार ८ सयभन्दा बढी विद्यार्थीले अध्ययन पूरा गरिसकेका छन् । हाल कलेजमा एमविविएस, विडिएस, विएस्सी नर्सिङ, विएमएलटी, विएमआइटी, तथा विभिन्न स्नातकोत्तर कार्यक्रम, एमएस्सी, क्लिनिकल फिजियोलोजी तथा डिएम, एमसिएच तहका कार्यक्रमहरू सञ्चालनमा छन् ।
यस शिक्षण अस्पतालमा वीरगञ्ज र मधेश क्षेत्र मात्र नभई सीमावर्ती भारतीय क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । दक्ष स्वास्थ्य जनशक्ति उत्पादनसँगै क्षेत्रीय स्वास्थ्य सेवा प्रवाहमा समेत यस संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । रहबर अन्सारीका बुवा डा। अनवर इलाही अन्सारी नेपाल मेडिकल काउन्सिलका पूर्वउपाध्यक्ष हुन् । डा . अनवर इलाही अन्सारी काउन्सिलको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए र त्यसअघि काउन्सिल सदस्यका रूपमा समेत काम गरिसकेका थिए । नेपाल मेडिकल काउन्सिलको जिम्मेवार पदमा रहँदा डा। अनवर इलाही अन्सारी नेशनल मेडिकल कलेजको अनुगमन तथा निरीक्षणमा समेत सहभागी भएका थिए । त्यतिबेला तयार गरिएका निरीक्षण प्रतिवेदनका आधारमा कलेजको अनुमतिपत्र तथा सम्बन्धित स्वीकृतिहरू पटक–पटक नवीकरण भएको दाबी गरिएको छ ।

तर अहिले रहबर अन्सारीले सोही संस्थामाथि लगाएका आरोपले प्रश्न उठाएको छ—यदि डा . अनवर इलाही अन्सारी नियामक निकायको जिम्मेवार पदमा रहँदा कलेजको निरीक्षणमा सहभागी भएका थिए र ती निरीक्षणकै आधारमा कलेजका स्वीकृतिहरू नवीकरण हुँदै आएका थिए भने, अहिले रहबर अन्सारीले सोही संस्थामाथि गम्भीर आरोप लगाउनुको अर्थ के हो ? यसले नेशनल मेडिकल कलेजलाई लक्षित गरी बदनाम गराउने प्रयास भइरहेको हो कि होइन भन्ने प्रश्नसमेत उठाएको छ । अर्कोतर्फ, रहबर अन्सारी स्वयं पनि स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्ति हुन् । उनी वीरगञ्जस्थित गण्डक अस्पतालको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिसकेका छन् । निजी स्वास्थ्य संस्थाको व्यवस्थापनमा प्रत्यक्ष अनुभव भएका व्यक्तिले अर्को निजी मेडिकल कलेजमाथि गम्भीर आरोप लगाउँदा आरोपको प्रमाणसँगै सम्भावित व्यावसायिक हित वा स्वार्थ–सम्बन्धबारे प्रश्न उठ्नु स्वाभाविक देखिन्छ ।
रहबर अन्सारी गण्डक अस्पतालको व्यवस्थापनमा रहँदा त्यहाँ कार्यरत मेडिकल अफिसर, कन्सल्टेन्ट, सुपरभाइजर, अहेब, नर्स तथा अन्य कर्मचारीहरूले लामो समय आन्दोलन गरेको बताइन्छ । त्यस बेला रहबर अन्सारीमाथि अस्पताल व्यवस्थापनसँग मिलेर आन्दोलनरत चिकित्सक तथा कर्मचारीमाथि ज्यादती गरेको आरोपसमेत लागेको थियो । त्यसैगरी, उनको व्यवस्थापनकालमा विभिन्न चिकित्सक, नर्स तथा कर्मचारीहरूको तलब तथा अन्य पारिश्रमिक भुक्तानी नभएको र प्रभावित कर्मचारीहरू आजसम्म पनि आफ्नो बाँकी रकमको माग गर्दै आन्दोलन तथा दबाब दिइरहेको आरोप छ ।

पीजी आन्दोलनमा बसरुद्धिन अन्सारी, रहबर अन्सारीको अन्तरसम्बन्ध
नेशनल मेडिकल कलेजका पीजी प्रथम वर्षका आन्दोलनरत आवासीय चिकित्सकहरूमाथि सांसद रहबर अन्सारीको प्रत्यक्ष प्रभाव र दबाब रहेको आरोपसमेत उठेको छ । केही विद्यार्थीहरूसँग भएको कुराकानीबाट, कलेज फर्किएमा उनीहरूलाई ‘फेल गराइने’ भन्दै डर देखाइएको तथा आन्दोलन जारी राखेमा रहबर अन्सारीले सम्बन्धित निकायसँग पहल गरी सबैलाई अन्य संस्थामा स्थानान्तरण गराइदिने आश्वासन दिएको दाबी गरिएको छ । यसले विद्यार्थीलाई नियमित अध्ययन तथा क्लिनिकल प्रशिक्षणमा फर्किन नदिई आन्दोलननै कायम राख्न मनोवैज्ञानिक दबाब सिर्जना गरिएको हो कि होइन भन्ने प्रश्नसमेत उठाएको छ ।
आन्दोलनरत पीजी प्रथम वर्षका विद्यार्थीहरूसँग सम्बन्धित विभिन्न छलफल तथा बैठकहरू नेशनल मेडिकल कलेजका पूर्व प्रबन्धक बसरुद्धिन अन्सारीसँग काठमाडौंको घट्टेकुलोमा हुँदै आएको आरोप छ । ती बैठकहरू बसरुद्धिन अन्सारीको गैरकानुनी नियन्त्रणमा रहेको भनिएको परिसरमा भइरहेको बताइन्छ । उक्त सम्पत्तिको स्वामित्व र कानुनी कब्जासम्बन्धी विषय आफैं विवादित रहेको र बसरुद्धिन अन्सारीले उक्त परिसर गैरकानुनी रूपमा कब्जा गरी नियन्त्रणमा राखेको आरोपसमेत रहेको छ । यस्तो पृष्ठभूमिमा बसरुद्धिन अन्सारी, रहबर अन्सारी र आन्दोलनरत पीजी प्रथम वर्षका विद्यार्थीहरूबीच भइरहेको भनिएको समन्वयको प्रकृतिमाथि प्रश्न थप गम्भीर बनेको छ ।
पीजी प्रथम वर्षका विद्यार्थीहरूको आन्दोलन, रहबर अन्सारीको सक्रियता र बसरुद्धिन अन्सारीसँग भइरहेको भनिएको बैठक तथा समन्वयबीचको वास्तविक सम्बन्ध के हो भन्ने प्रश्न थप गम्भीर बनेको छ । त्यसो त वर्तमानमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नं। ४ का सांसद रहबर अन्सारी सत्ता र पदका लागि जे पनि गर्ने सांसदका रूपमा परिचित रहेको छन् । उनी यसअघि नेकपा माओवादी केन्द्रबाट राजनीति गर्दथे । २०७९ सालको निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ ( क ) बाट मधेश प्रदेश सभा सदस्य निर्वाचित भई उद्योग, पर्यटन तथा वन राज्यमन्त्री हुँदा उनले बारा–पर्सा क्षेत्रका उद्योगी व्यवसायीहरूसँग जथाभावी चन्दा मागेर दुःख दिने गरेको आरोपसमेत लागेको थियो ।
यस्तै, रहबर अन्सारीको नेशनल मेडिकल कलेजका पूर्व प्रबन्धक बसरुद्धिन अन्सारीसँग राम्रो हिमचिम रहेको छ । नेशनल मेडिकल कलेजका संस्थापक अध्यक्ष प्रा .डा . जैनुद्धिन अन्सारी र बसरुद्धिन अन्सारीबीचको पारिवारिक विवादमा रहबर अन्सारीले बसरुद्धिन अन्सारीबाट ठूलो आर्थिक लाभ लिएको र त्यसपछि मेडिकल कलेजमा अस्थिरता सिर्जना गर्न भूमिका खेल्दै आएको आरोप छ । रहबरले नै बसरूद्धिनलाई धेरै पटक शक्ति केन्द्रमा पुर्याउने गरेको देखिन्छ । त्यसैगरी, बसरुद्धिन अन्सारीले नै रहबर अन्सारीलाई नेशनल मेडिकल कलेजसम्बन्धी गलत तथा भ्रामक सूचना उपलब्ध गराएर सार्वजनिक रूपमा बोल्न लगाएको तथा पीजी प्रथम वर्षका आवासीय चिकित्सकहरूलाई आन्दोलनका लागि उक्साउन रहबर अन्सारीमार्फत भूमिका खेलेको आरोप समेत उठेको छ ।
रहबर अन्सारीले संसदबाट नेशनल मेडिकल कलेजमाथि गम्भीर आरोप लगाउनु, अर्कोतिर पीजी प्रथम वर्षका विद्यार्थीहरूलाई कलेज फर्किए फेल हुने त्रास देखाइनु र अन्य संस्थामा स्थानान्तरण गराइदिने आश्वासन दिइएको आरोप, तथा त्यससँगै बसरुद्धिन अन्सारीसँग घट्टेकुलोमा निरन्तर बैठक भइरहेको दाबीले यो घटनालाई सामान्य विद्यार्थी आन्दोलनभन्दा बाहिरको विषय बनाएको छ । अन्ततः प्रश्न तीन पक्षबीचको सम्भावित सम्बन्धमै केन्द्रित भएको छ—बसरुद्धिन अन्सारी, रहबर अन्सारी र पीजी प्रथम वर्षका आन्दोलनरत विद्यार्थीहरूबीच वास्तवमा कस्तो समन्वय भइरहेको छ ? रहबर अन्सारीले संसदमा उठाएका आरोपका ठोस प्रमाण के हुन् र ? र विद्यार्थी आन्दोलनमा बसरुद्धिन अन्सारी तथा रहबर अन्सारीको वास्तविक भूमिका के हो ? यी प्रश्नहरूको वास्तविकता तथ्य, अभिलेख र सम्बन्धित निकायको निष्पक्ष अनुसन्धानबाट स्पष्ट हुनुपर्ने देखिन्छ ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM