वीरगञ्जको जीवनरेखा मानिने सिर्सिया नदीलाई प्रदूषणमुक्त तथा अतिक्रमणमुक्त बनाउन माग गर्दै अभियन्ता ओमप्रकाश सरार्फले नेपाल सरकारका प्रधानमन्त्रीलाई खुला पत्र लेखेका छन्। उनले नदीको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल ठोस पहल गर्न आग्रह गरेका हुन्।
खुला पत्रमा सिर्सिया नदी वीरगञ्ज महानगर तथा आसपासका हजारौं नागरिकको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरिएको छ। एक समय स्वच्छ र उपयोगी रहेको नदी अहिले औद्योगिक ढल, रासायनिक फोहोर, अव्यवस्थित फोहोर व्यवस्थापन तथा अतिक्रमणका कारण संकटमा परेको सरार्फले बताएका छन्।
उनका अनुसार नदीको प्रदूषणले वीरगञ्ज मात्र नभई सीमावर्ती भारतीय क्षेत्र रक्सौलसम्म असर पुर्याएको छ। दूषित पानीका कारण दुर्गन्ध फैलिएको, स्थानीयवासीमा स्वास्थ्य समस्या बढेको, कृषि क्षेत्रमा नकारात्मक असर परेको तथा भूजल प्रदूषणको समस्या देखिएको पत्रमा उल्लेख छ।
सरार्फले सिर्सिया नदीको संरक्षणका लागि नागरिक स्तरबाट एक दशकभन्दा बढी समयदेखि आन्दोलन, संघर्ष र सत्याग्रह हुँदै आएको बताए। कानुनी रूपमा पहल गर्दा पनि अपेक्षित सुनुवाइ नभएको उनको गुनासो छ।
प्रधानमन्त्रीसमक्ष उनले उद्योगबाट नदीमा मिसाइने ढल तथा रासायनिक फोहोरमा कडा निगरानी, नदी सफाइ अभियान, आधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण, प्रदूषण गर्ने उद्योगमाथि कारबाही, तीन तहका सरकारबीच समन्वय, नदी किनार अतिक्रमण हटाउने तथा पर्यटकीय विकास योजना ल्याउन माग गरेका छन्।
पत्रको अन्त्यमा सिर्सिया नदीको संरक्षण वीरगञ्जको मात्र नभई राष्ट्रको वातावरण, जनस्वास्थ्य र भावी पुस्ताको भविष्यसँग जोडिएको विषय भएको उल्लेख गर्दै तत्काल कदम चाल्न आग्रह गरिएको छ। माग सम्बोधन नभए नागरिकस्तरको आन्दोलन जारी रहने चेतावनी समेत दिइएको छ।








