अभिलाष गुप्ता
वीरगञ्ज, असार २९

नारायणी वाङ्मय प्रतिष्ठान, पर्सा वीरगञ्जले ११३औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। स्थानीय होटल पूजनमा आयोजित कार्यक्रममा साहित्यकार, शिक्षाविद्, प्राध्यापक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नारायणी वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रोफेसर डा. विशम्भर शर्माको अध्यक्षता तथा वरिष्ठ साहित्यकार प्रोफेसर डा. व्रतराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदानबारे चर्चा गरिएको थियो।
प्रमुख अतिथि डा. आचार्यले भानुभक्त आचार्यद्वारा रचित कविता, रामायण तथा अन्य साहित्यिक कृतिहरू आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी रहेको बताउनुभयो। उहाँले नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि नयाँ पुस्तालाई भानुभक्तका कृतिसँग जोड्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. दीपक शाक्य, प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला शाह, गौतम माध्यमिक विद्यालयका विद्यालय प्रशासन रमेश शर्मा लगायत साहित्य, शिक्षा तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
यसै अवसरमा नारायणी वाङ्मय प्रतिष्ठान तथा लक्ष्मी समाजको संयुक्त आयोजनामा भानु जयन्ती विशेष कविता वाचन प्रतियोगिता पनि सम्पन्न गरिएको थियो। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले भानुभक्त आचार्यका रचना तथा नेपाली साहित्यसँग सम्बन्धित कविता वाचन गरी आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
प्रतियोगितामा वीरगञ्जस्थित नवदीप एकेडेमीकी कक्षा १० की छात्रा प्रियंका साह द्वितीय स्थान हासिल गर्न सफल भएकी छन्। एसईई तयारी तथा परीक्षाको व्यस्त समयका बाबजुद पनि प्रतियोगितामा सहभागी भई उत्कृष्ट कविता वाचन प्रस्तुत गर्दै उनले आफ्नो प्रतिभा, आत्मविश्वास, लगनशीलता र साहित्यप्रतिको रुचिको उत्कृष्ट परिचय दिएकी छन्।
प्रियंकाको उपलब्धिप्रति नवदीप एकेडेमी परिवारले खुसी व्यक्त गर्दै उनलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएको छ। विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूलाई शैक्षिक उपलब्धिसँगै साहित्य, कला तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता गराउँदै प्रतिभा प्रस्फुटनका अवसरहरू उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले भानु जयन्ती केवल एक साहित्यिक उत्सव मात्र नभई नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको सम्मान व्यक्त गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण बढाउने विश्वास व्यक्त गरेका थिए।
























