रक्सौलस्थित माहेर ममता निवासको नवनिर्मित भवन उद्घाटन समारोहमा लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीकी अध्यक्ष तथा समाजसेवी लायन पिया सिंह र संयुक्त सचिव तथा समाजसेवी लायन प्रसिद्धि आनन्द सिंहले नेपाली संस्कृतिको गौरवशाली परम्परालाई आत्मसात गर्दै विशिष्ट अतिथिहरूलाई खादा (अंगवस्त्र) र ढाका टोपी लगाएर सम्मान गरेका छन्।

उहाँहरूले माहेर ममता निवासकी संस्थापक निर्देशक सिस्टर लुसी कुरियन, अध्यक्ष डा. प्रदीप शर्मा, सचिव डा. निकोला पवार, सदस्यहरू हिराबेगम मुल्ला, अनिरुद्ध गडनकुश, मर्सी मेन्डोन्का, सुश्री सिन्डिथ क्युस्टरलगायत अन्य अतिथिहरूलाई नेपाली परम्पराअनुसार सम्मान प्रदान गर्नुभएको थियो।
नेपाली संस्कृतिमा खादा श्रद्धा, सम्मान, सद्भाव र पवित्रताको प्रतीक मानिन्छ भने ढाका टोपी राष्ट्रिय गौरव र सांस्कृतिक पहिचानको प्रतीक हो। यस सम्मानले समारोहमा भारत–नेपालबीचको सांस्कृतिक आत्मीयता, पारस्परिक सम्मान र मित्रताको सशक्त सन्देश दिएको सहभागीहरूले बताएका छन्।
सम्मानबाट भावुक बनेकी सिस्टर लुसी कुरियन तथा जर्मनीबाट आएका अतिथिहरूले लायन पिया सिंह र लायन प्रसिद्धि आनन्द सिंहप्रति आभार व्यक्त गर्दै उहाँहरूलाई पनि मायाको चिनो तथा अंगवस्त्र प्रदान गरी सम्मान गरेका थिए।
भारत विकास परिषद्, रक्सौल शाखाका अध्यक्ष रजनीश प्रियदर्शी तथा सेवा संयोजक एवं सञ्चार प्रभारी बिमल कुमार सर्राफले नेपाली संस्कृति र परम्पराअनुसार गरिएको यस सम्मानको प्रशंसा गर्दै यसले भारत–नेपालबीचको अटुट सांस्कृतिक सम्बन्ध र आत्मीयतालाई अझ सुदृढ बनाएको बताएका छन्।
























