२०८३ श्रावण १० गते आईतवार

वीरगञ्जमा गहवामाईको चौथो विशाल रथयात्रा बिहीबार निकालिँदै, विद्यालयहरुमा बिदा

प्रहलाद चौरसिया
असार ३१, वीरगन्ज

अभिलाष गुप्ता Avatar

पर्साको वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरको चौथो विशाल रथयात्रा यस वर्ष असार ३२ गते बिहीबार दिन भव्य रूपमा निकालिने भएको छ। प्रत्येक वर्ष असार शुक्ल द्वितीयाका दिन आयोजना हुँदै आएको यो धार्मिक उत्सवमा यसपटक पनि ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार रथयात्रामा ६० हजारभन्दा बढी भक्तजनहरूको उपस्थिति रहने अनुमान गरिएको छ। नेपालका विभिन्न जिल्लाहरू—बारा, रौतहट, मकवानपुर, चितवन र काठमाडौंका साथै छिमेकी मुलुक भारतबाट समेत श्रद्धालुहरू सहभागी हुनेछन्।

रथयात्रा बिहीबार बिहान साढे ७ बजे गहवामाई मन्दिर परिसरबाट सुरु हुनेछ। यात्रा घण्टाघर हुँदै रेल्वे रोड, पञ्चमुखी हनुमान मन्दिर (नगवा), छपकैया चौक, बिर्ता र पुनः हनुमान मन्दिर हुँदै मन्दिर परिसरमै फर्किएर विश्राम गर्ने कार्यक्रम तय गरिएको छ।

यस अवसरमा रथ सजाउने काम अन्तिम चरणमा पुगेको छ भने सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको छ। भक्तजनहरूको सहज आवागमनलाई ध्यानमा राख्दै सडक डिभिजन कार्यालय हेटौडाले सडक विस्तारका लागि भइरहेका भत्काउने कार्य केही दिनका लागि स्थगित गरेको छ। साथै, वीरगञ्ज महानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा एक दिन सार्वजनिक बिदा दिएको छ।

रथयात्राको विशेष आकर्षणका रूपमा प्रभु कम्पनीको हेलिकप्टरमार्फत माथिबाट पुष्पवृष्टि गरिनेछ। छपकैया चौकमा समेत हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामूहिक उत्सवको प्रतीकका रूपमा रहेको गहवामाई रथयात्राले यस वर्ष पनि वीरगञ्जलाई उत्सवमय बनाउने विश्वास गरिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM