अभिलाष गुप्ता
वीरगञ्ज, साउन २

वीरगञ्जको विद्युत आपूर्तिको प्रमुख विकल्पका रूपमा रहेको छपकैया ३३ केभी अन्डरग्राउन्ड केबलमा प्राविधिक खराबी (फल्ट) आएपछि अवरुद्ध भएको विद्युत सेवा तीन दिन र तीन रातको निरन्तर प्रयासपछि समाधानतर्फ पुगेको छ।
नेपाल विद्युत प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रका अनुसार केबलमा समस्या देखिनेबित्तिकै उच्च व्यवस्थापनको समन्वयमा Fault Locator Megger Testing Van रातारात वीरगञ्ज ल्याएर परीक्षण सुरु गरिएको थियो। रातभरको प्रयासका बाबजुद प्रारम्भिक रूपमा फल्टको स्थान पत्ता लाग्न नसकेपछि छपकैया सबस्टेसनअन्तर्गत सञ्चालित अस्पताल, विर्तामाई, नगवा, छपकैया र बलिरामपुर फिडरमध्ये बलिरामपुर, छपकैया र नगवा फिडरको विद्युत आपूर्ति अवरुद्ध भएको थियो।
विद्युत सेवा सकेसम्म नियमित बनाउन प्राधिकरणले अर्को दिनदेखि नै सबै प्रभावित फिडरमा वैकल्पिक विद्युत आपूर्तिको व्यवस्था गरेको जनाएको छ।
लगातार तीन दिन र तीन रातको प्राविधिक खोजीपछि नगवा पोखरी नजिक केबलको फल्ट फेला परेको प्राधिकरणले जनाएको छ। सो स्थानमा निर्माणाधीन पसौंनी–छपकैया ३३ केभी ओभरहेड लाइन सम्पन्न भइसकेकाले अहिले पुरानो लाइन नकटाई नै मर्मत कार्य अगाडि बढाउन सम्भव भएको प्राधिकरणले स्पष्ट पारेको छ।
प्राधिकरणका अनुसार प्रतिकूल वर्षायाम, केही स्थानीयको अवरोध तथा चुनौतीपूर्ण परिस्थितिका बीच पनि नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका कर्मचारी, निर्माण व्यवसायी तथा प्राविधिक टोलीले दिनरात खटेर निर्माणाधीन पसौंनी–छपकैया ३३ केभी ओभरहेड लाइन दुई दिनमै सम्पन्न गरी सफलतापूर्वक चार्ज गरेका छन्।
वीरगञ्ज वितरण केन्द्रले कठिन परिस्थितिमा धैर्यपूर्वक सहयोग गर्ने स्थानीय उपभोक्ता, स्थानीय प्रशासन, सञ्चारकर्मी, निर्माण व्यवसायी तथा उच्च व्यवस्थापनप्रति हार्दिक आभार व्यक्त गरेको छ।
प्राधिकरणले नयाँ ३३ केभी ओभरहेड लाइन सञ्चालनमा आएसँगै भविष्यमा वीरगञ्जवासीले अझ भरपर्दो, गुणस्तरीय र नियमित विद्युत सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै यसलाई वीरगञ्जको विद्युत आपूर्तिका लागि महत्त्वपूर्ण कोशेढुंगा (माइलस्टोन) का रूपमा उल्लेख गरेको छ।
























