२०८३ श्रावण १० गते आईतवार

‘सीप र चरित्रले नै भविष्य निर्माण गर्छ’ : प्रथम रजिस्ट्रार विजय कुमार यादव

अभिलाष गुप्ता
वीरगञ्ज, ६ साउन

बिरगञ्ज पब्लिक कलेज (बीपीसी)ले स्नातक तहका बिबिएसमा अध्ययनरत विद्यार्थीहरूका लागि विदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। वीरगञ्जस्थित होटल भिस्वामा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम बिरगञ्ज पब्लिक कलेजका संस्थापक तथा मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा मधेश विश्वविद्यालयका प्रथम रजिस्ट्रार विजय कुमार यादव सहभागी हुनुभएको थियो।

विशिष्ट अतिथिहरूमा बीपीसीका पूर्वविद्यार्थी तथा उद्यमी रोशन गुप्ता, बीपीसीका ब्रान्ड एम्बासडर देवेश गुप्ता मानवसेवा, कार्यकारी निर्देशक युगल किशोर प्रसाद शाह, शैक्षिक निर्देशक डा. बिनय ठाकुर, प्राचार्य डा. बासु कर्ण, सहायक क्याम्पस प्रमुख डा. अर्बिन्द श्रेष्ठ तथा क्याम्पस संयोजक इन्जिनियर जयकिशन साहनीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विजय कुमार यादवले स्नातक तह पूरा गरी नयाँ यात्रामा अघि बढिरहेका विद्यार्थीहरूलाई बधाई दिँदै अबको समय ज्ञानसँगै सीप, अनुशासन र नैतिकताको प्रयोग गर्ने समय भएको बताउनुभयो। उहाँले कलेजबाट प्राप्त प्रमाणपत्र मात्र नभई असल चरित्र, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वले नै व्यक्तिलाई सफल बनाउने उल्लेख गर्नुभयो।

यादवले गुणस्तरीय, व्यवहारिक र अनुसन्धानमुखी शिक्षामा जोड दिइरहेको बताउँदै युवाहरूले रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थीहरूलाई सकारात्मक सोच, निरन्तर सिकाइ र समाजप्रति उत्तरदायी भएर राष्ट्र निर्माणमा योगदान दिन आग्रह गर्नुभयो।

अध्यक्षीय मन्तव्यमा डा. दीपक शाक्यले बीपीसीले विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्र नभई नेतृत्व क्षमता, व्यक्तित्व विकास र व्यावसायिक दक्षता अभिवृद्धिमा समेत प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले विदाइ जीवनको अन्त्य नभई नयाँ यात्राको सुरुआत भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, हास्य प्रस्तुति तथा अन्य मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। साथै उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM