अभिलाष गुप्ता
वीरगञ्ज, ६ साउन

वीरगञ्ज महानगरपालिका–२४, ज्योतिनगरस्थित लिटिल एन्जल्स बोर्डिङ स्कुल मा अध्ययनरत जुनियर तहका विद्यार्थीहरूको स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिन को अध्यक्षतामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल पाख्रिनले विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिँदै आएको बताए। यस्ता प्रतियोगिताले विद्यार्थीहरूको भाषा ज्ञान, आत्मविश्वास, स्मरणशक्ति तथा प्रतिस्पर्धात्मक क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
उनले स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीहरूलाई सक्षम, आत्मविश्वासी र सिर्जनशील बनाउन विद्यालयले विशेष जोड दिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिहरूलाई निरन्तरता दिइने बताए।
विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै उनीहरूलाई अध्ययनसँगै व्यवहारिक रूपमा पनि अब्बल बनाउने लक्ष्य लिएको जनाएको छ।
























