अभिलाष गुप्ता
बिरगंज १२ साउन

वीरगंजस्थित नारायणी अस्पतालमा उत्पन्न तनाबका कारण ४ दिनदेखि विरामीहरूले उपचार सेवा पाउनबाट वञ्चित हुनु दुखद छ। पर्सा प्रहरी-प्रशासन संवेदनशील नभइदिँदा नारायणी अस्पतालको आन्दोलन देशैभर फैलन पुग्नु अर्को दुखद पक्ष हो। सुरक्षा सुनिश्चित गर्ने विश्वास दिलाउँदै आन्दोलन छाडेर काममा फर्किने वातावरण बनाउनुको साटो प्रशासकले ‘शासक’को व्यवहार गरेपछि नारायणी अस्पतालका चिकित्सकहरू झनै भड्किएको बुझिन आएको छ।
नारायणी अस्पतालमा कार्यरत अधिकांश चिकित्सकहरूले राजीनामा नै दिएर स्थानीय प्रहरी-प्रशासनको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्। अस्पताल तोडफोड र चिकित्सकलाई मरणासन्न हुनेगरी कुटपिट गर्नेविरूद्ध कारबाही माग गरेकाहरूलाई वार्ता गर्न भनी बोलाएर धम्क्याउनु र ‘बन्धक’ बनाएर जोरजबर्जस्ती गरिनु प्रशासनको गम्भीर गल्ती हो।
यस्तो संवेदनशील घटनामा संयमता अपनाउने, सौहार्दपूर्ण वातावरण बनाउने, आफू तलै परेर किन नहोस्, पारस्परिकता माथि उठाउने दायित्व स्थानीय प्रहरी-प्रशासनको हो-न कि शासकको दम्भ पालेर आफूलाई लागेको कुरा लाद्ने! प्रशासकहरूले के बुझ्नु जरुरी छ भने- प्रशासन चाहिँ राम्रो छ भने चल्छ, तर शासन चल्ने चाहिँ जनताकै हो। अझैं पनि कसैले डण्डा देखाएर शासन गर्ने मानसिकता त्याग्न सकेको छैन भने त्यो समाजका लागि असह्य त हुन्छ नै, उसैका लागि समेत घातक हुन सक्छ। यो कुरा हाम्रा प्रशासकहरूले राम्ररी मनन् गर्नु जरुरी छ।
उपचारका क्रममा विरामीको मृत्यु हुनुमा चिकित्सकीय गल्ती-कमजोरी थियो वा थिएन भन्ने जाँचबुझपछि नै थाहा होला। तर अस्पतालमा तोडफोड र चिकित्सक कुटपिट, अनि तोडफोड र कुटपिटपछि असुरक्षित महसुस गर्दै सुरक्षा माग्ने चिकित्सकहरूमाथि प्रशासनबाट उल्टो धम्की र दुर्व्यवहार गरिएको सार्वजनिक घटनामा कसको गल्ती-कमजोरी छ भन्ने थाहा पाउन भने जाँचबुझको औपचारिकता पर्खिरहनु नपर्ला!
शासक प्रवृत्ति देखाउँदै तिललाई पहाड बनाउन उद्धेलित गर्ने पर्साका प्रशासकहरूलाई जिम्मेवारी पूरा गर्न नसकेकोमा यथाशीघ्र कारबाही होस्। चिकित्सकको आवरणमा कसैले राजनीतिक दाउँ मारिरहेको छ भने उसलाई पनि नबक्सियोस्। चिकित्सक कुट्ने र अस्पताल तोडफोड गर्नेहरूलाई कानुनी दायरामा ल्याइयोस्। उपचारका क्रममा विरामीको मृत्यु चिकित्सकीय गल्तीकमजोरीले हो वा होइन छानबिन होस्, उपचारमा लापरवाही भएको पाइए कडा कारबाही होस्।
मेरो आग्रह छ- नारायणी अस्पतालको घटना साम्य पार्दै देशैभरका अस्पतालहरूमा सेवा नियमित गर्नेतर्फ सरकारले तदारुकता देखाओस्। आन्दोलनरत चिकित्सकहरू पनि उपचार सेवा संवेदनशीलता बुझेर काममा फर्किउन्। कुटपिटपाट घाइते चिकित्सकको सहज उपचार होस्। मृतकका परिवारलाई सरकारले विश्वासमा लेओस्, न्यायिक प्रक्रिया निष्पक्ष हुने विश्वास दिलाओस्। कसैले पनि स्वास्थ्योपचार सेवाबाट वञ्चित हुन नपरोस्।























