२०८३ श्रावण १४ गते बिहीबार

कञ्चनजङ्घा स्कुलमा शिक्षक दिवस भव्य रूपमा सम्पन्न, शिक्षाले नै सभ्य र समृद्ध समाज निर्माण गर्ने प्रमुख अतिथि चौगाईको भनाइ

अभिलाष गुप्ता
वीरगञ्ज, साउन १३

वीरगञ्जस्थित कञ्चनजङ्घा इङ्ग्लिस स्कुलमा शिक्षक दिवस–२०८३ विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।

“असल शिक्षकले आशा जगाउँछन्, कल्पनाशक्तिलाई प्रेरित गर्छन् र सिकाइप्रतिको प्रेम विकास गराउँछन्।” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौगाईले शिक्षक नै राष्ट्र निर्माणका वास्तविक शिल्पी भएको उल्लेख गर्दै विद्यार्थीको व्यक्तित्व विकास, अनुशासन, नैतिकता तथा जीवनमा सफलता प्राप्त गर्न शिक्षकको भूमिका अतुलनीय रहेको बताउनुभयो। उहाँले विद्यालय केवल पठनपाठन गर्ने थलो मात्र नभई असल नागरिक उत्पादन गर्ने पवित्र संस्था भएको उल्लेख गर्दै विद्यार्थीलाई सिर्जनशील, अनुशासित र जिम्मेवार बनाउन शिक्षक, अभिभावक र विद्यालयबीच सुदृढ सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले शिक्षकप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै समाजले शिक्षकको योगदानलाई सदैव उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा विद्यालयका ससाना विद्यार्थीहरूले नृत्य, गीत, कविता वाचन, नाटक तथा अन्य विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको आकर्षक प्रस्तुतिले उपस्थित सम्पूर्ण अतिथि, अभिभावक तथा दर्शकको मन जितेको थियो।

विद्यालयका डाइरेक्टर मार्टिन मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवराज खडका, मधेश प्रदेश नेत्रहीन क्रिकेट संघका अध्यक्ष महेश साह, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, सञ्चारकर्मीहरू, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा शिक्षकहरूको सम्मान, विद्यार्थीहरूको प्रतिभा प्रदर्शन तथा गुरु–शिष्य सम्बन्धको महत्वबारे विभिन्न वक्ताहरूले प्रकाश पार्दै यस्ता कार्यक्रमले शिक्षकप्रतिको सम्मान अभिवृद्धि गर्नुका साथै विद्यार्थीमा सिर्जनशीलता र आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM