वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले प्रथम Quadrimestral Examination २०८३ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्तिसहित सम्मान गरेको छ।
विद्यार्थीहरूको मेहनत, लगनशीलता तथा शैक्षिक उपलब्धिको कदर गर्दै विद्यालयले ‘Scholarship Distribution and Recognition & Honour Ceremony’ आयोजना गरी आ–आफ्नो कक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति तथा सम्मान प्रदान गरेको हो।
विद्यालयका प्रिन्सिपल सरोजप्रसाद चौधरीले विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्नुका साथै अन्य विद्यार्थीलाई पनि अध्ययनमा थप मेहनत गर्न प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए। उनले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूको मेहनत र लगनशीलताको प्रशंसा गर्दै आगामी दिनमा अझ राम्रो प्रदर्शनका लागि निरन्तर मेहनत, अनुशासन र लगनशीलताका साथ अध्ययन गर्न सुझाव दिए।
प्रिन्सिपल चौधरीले विद्यार्थीको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरहने भन्दै त्यसले शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यालयको समेत गौरव बढाउने बताए। विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट नतिजाले विद्यालयको शैक्षिक वातावरणलाई थप उत्साहित बनाउनुका साथै विद्यालयको नामलाई अझ उचाइमा पुर्याउने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा छात्रवृत्ति तथा सम्मान प्राप्त गर्ने विद्यार्थीहरू उत्साहित देखिएका थिए। सम्मानले आफूहरूलाई आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा मिलेको भन्दै विद्यार्थीहरूले अध्ययनमा थप मेहनत गर्ने प्रतिबद्धता जनाएका थिए।
विद्यालयले विद्यार्थीहरूको शैक्षिक विकाससँगै प्रतिभा, सिर्जनशीलता, अनुशासन तथा नेतृत्व क्षमताको विकासलाई समेत प्राथमिकता दिँदै विभिन्न अतिरिक्त क्रियाकलाप तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको प्रिन्सिपल चौधरीले बताए।
त्यसैगरी विद्यालयका सहायक प्रिन्सिपल अशोक संग्रौलाले विद्यार्थीहरूको मनोबल बढाउन शिक्षा तथा अतिरिक्त क्रियाकलापमार्फत प्रोत्साहन गर्ने उद्देश्य विद्यालयले राखेको बताए। विद्यार्थीको समग्र विकासका लागि अध्ययनसँगै विभिन्न सिर्जनात्मक तथा अतिरिक्त गतिविधिलाई समेत निरन्तरता दिइने उनले बताए।
कार्यक्रममा विद्यार्थी, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयले प्रथम Quadrimestral Examination २०८३ मा उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण कक्षाका विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको आगामी शैक्षिक यात्राको सफलताको कामना गरेको छ।
























