नेपालसहित अन्तर्राष्ट्रिय पत्रकारहरुको १५ सदस्यीय टोलीले हाजीपुर नगरस्थित ऐतिहासिक तथा प्रसिद्ध बाबा पातालेश्वरनाथ मन्दिरको दर्शन तथा मन्दिर परिसरको अवलोकन गरेको छ। सार्क पत्रकार मञ्च (एसजेएफ) इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाको नेतृत्वमा आएको पत्रकार टोलीले मन्दिरको धार्मिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गरेको हो।
मन्दिर परिसर पुगेको प्रतिनिधिमण्डललाई मन्दिर ट्रस्ट समितिका पदाधिकारी तथा सदस्यहरुले न्यानो स्वागत गरेका थिए। सो अवसरमा आयोजित विशेष कार्यक्रममा अतिथि पत्रकारहरुलाई अंगवस्त्र (कपडा), पुष्पगुच्छा, पुस्तक र स्मृति चिन्ह प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमको संयोजन सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टर, बिहारका अध्यक्ष तथा अन्तर्राष्ट्रिय पत्रकार डा. शशिभूषण कुमारले गर्नुभएको थियो। सो अवसरमा डा. कुमारलाई पनि मन्दिर ट्रस्ट समितिले सम्मान गरेको थियो।
समारोहमा हाजीपुर नगर परिषद्का अध्यक्ष डा. संगीता कुमारीले नेपालबाट आएका वरिष्ठ पत्रकार सार्क जर्नलिस्ट फोरम का प्रदेश अध्यक्ष महमद सदाब,अभिलास गुप्ता,पवन साह,अरुण गुप्ता,रुद्र सुवेदी,आरिफ अन्सारी,अजमत अल्ली लगायतका पत्रकारहरु लाई स्वागत गर्दै नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध अटुट रहेको बताउनुभयो। उहाँले दुई देशबीचको साझा संस्कृति, धार्मिक एकता र सद्भाव सदैव मजबुत रहने विश्वास व्यक्त गर्नुभयो।
यसैगरी मन्दिर ट्रस्ट समितिका सचिव अनिलचन्द्र कुशवाहाले बाबा पातालेश्वरनाथ मन्दिरको ऐतिहासिक, धार्मिक तथा आध्यात्मिक महत्वबारे पत्रकार टोलीलाई विस्तृत जानकारी गराउनुभएको थियो। उहाँले पत्रकारहरुलाई मन्दिर परिसरका विभिन्न महत्वपूर्ण स्थलहरुको भ्रमण गराउँदै मन्दिरको परम्परा र आस्थाबारे अवगत गराउनुभयो।
अवलोकनका क्रममा पत्रकारहरुले पत्रकारिताको माध्यमबाट विभिन्न मुलुकबीच सांस्कृतिक संवाद, आपसी सद्भाव र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सकिने धारणा राखेका थिए। मन्दिर ट्रस्ट समितिका पदाधिकारी तथा स्थानीय प्रतिनिधिहरुको सहभागिता रहेको यस भ्रमणले हाजीपुरको धार्मिक तथा सांस्कृतिक पहिचानलाई विश्वव्यापी मञ्चमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
























