लखीसराय (भारत), ७ असोज। हिन्दी पखवाडाको अवसरमा देश–विदेशबाट लखीसराय पुगेका पत्रकारलाई जिल्ला प्रशासनले स्वागत तथा सम्मान गरेको छ।
अन्तर्राष्ट्रिय पत्रकार संघका अध्यक्ष राजु लामासहित बंगलादेशका पत्रकार मोहम्मद अब्दुल रहमान तथा मानवअधिकार पत्रकारिताका अन्तर्राष्ट्रिय रूपमा चर्चित वरिष्ठ पत्रकार डा. शशि भूषण कुमारलगायत पत्रकारलाई जिल्ला पदाधिकारी शैलेन्द्र कुमारले सोमबार आफ्नो कार्यालय कक्षमा पुष्पगुच्छा प्रदान गर्दै स्वागत गरेका हुन्। पत्रकार टोलीको प्रतिनिधित्व वरिष्ठ पत्रकार डा. शशि भूषण कुमार र पुरातत्वविद् डा. अरुण कुमारले गरेका थिए।
बंगलादेश, नेपाल र भुटानसहित विभिन्न देशका पत्रकार सम्मिलित प्रतिनिधिमण्डल अल इन्डिया जर्नलिस्ट युनियन (एआईजेयू) का राष्ट्रिय अध्यक्ष रञ्जित सम्राटको नेतृत्वमा लखीसराय पुगेको थियो। प्रतिनिधिमण्डलले जिल्लाका ऐतिहासिक तथा धार्मिक सम्पदाका रूपमा रहेको इन्द्रधनेश्वर महादेव अशोकधाम मन्दिरको भ्रमण गरेको छ।
भ्रमणका क्रममा मन्दिर परिसरमा रहेका प्राचीन मूर्ति तथा ऐतिहासिक अवशेषबारे पुरातत्वविद् अरुण कुमार तथा उनको टोलीबाट पत्रकारहरूले विस्तृत जानकारी लिएका थिए।
त्यसपछि पत्रकार प्रतिनिधिमण्डलले लाली पहाडीमा पुरातात्विक उत्खननका क्रममा फेला परेका महिला बौद्ध भिक्षुहरूको छात्रावासका अवशेषको समेत गहन निरीक्षण गरेको थियो। सो क्रममा प्रतिनिधिमण्डलले उक्त स्थलसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक तथ्यबारे जानकारी लिएको थियो।
पुरातत्वविद् अरुण कुमारका अनुसार लाली पहाडीमा ठूलो संख्यामा महिला बौद्ध भिक्षुहरूको छात्रावासका अवशेष फेला परेका छन्। उनका अनुसार बिहारमा हालसम्म भएका पुरातात्विक खोजमध्ये यो सबैभन्दा ठूला छात्रावासमध्ये एक हो। भविष्यमा उक्त स्थललाई महत्वपूर्ण पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने उनले बताए।
प्रतिनिधिमण्डलमा बंगलादेशको ढाकाबाट आएका पत्रकार एमके सिद्दिकी, नेपालका वीरगञ्जबाट पत्रकार रुद्रा सुविद, आलम अन्सारी, हाजीपुरका वरिष्ठ पत्रकार डा. शशि भूषण कुमारलगायत पत्रकार सहभागी थिए।
यस अवसरमा उपविकास आयुक्त (डीडीसी) सुमित कुमारले देश–विदेशबाट आएका तथा लखीसरायका एआईजेयूका पत्रकार प्रतिनिधिलाई अंगवस्त्र प्रदान गरी सम्मान गरेका थिए।
डीडीसी सुमित कुमारले जमालपुरमा आयोजित अन्तर्राष्ट्रिय पत्रकार महासम्मेलनले विश्व शान्ति तथा लोकतन्त्रको संरक्षणमा सञ्चारमाध्यमको भूमिकाबारे महत्वपूर्ण सन्देश दिएको बताए। उनले विश्वभर आपसी वैमनस्य र तनावका कारण युद्धको सम्भावना बढिरहेको अवस्थामा देश–विदेशका पत्रकारहरूले अन्तर्राष्ट्रिय पत्रकार महासम्मेलनमार्फत विश्व शान्तिको सन्देश प्रवाह गर्नु सराहनीय पहल भएको बताए।
कार्यक्रममा एआईजेयूका राष्ट्रिय प्रधान महासचिव सुनील कुमार, जिल्ला प्रधान महासचिव अमलेश कुमार पाण्डेय, कोषाध्यक्ष जयप्रकाश, कार्यकारिणी सदस्य मनीष कुमार र हिमांशु कुमारलगायतको उपस्थिति थियो।
























