२०८३ आश्विन ९ गते शुक्रबार

शंकरलाल मित्तलको नेपाली नागरिकतामाथि प्रश्न, छानबिन गरी कारबाही गर्न माग

 

भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढ निवासी भनिएका शंकरलाल मित्तलले झुटो विवरण तथा कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप सार्वजनिक भएको छ। लामो समयदेखि वीरगञ्जमा व्यापार व्यवसाय गर्दै आएका मित्तलले जिल्ला प्रशासन कार्यालय, बाराबाट जन्मका आधारमा नेपाली नागरिकता लिएको र नागरिकता प्राप्त गर्न पेस गरिएका विवरण तथा कागजातमा असंगति रहेको दाबी गर्दै छानबिनको माग गरिएको हो।

मित्तलले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको दाबी गर्दै सप्तरीको वभनगामाकट्टी गाउँपालिका–६ का एक सामाजिक अभियन्ताले जिल्ला प्रशासन कार्यालय, बारामा उजुरी दिएका छन्। उजुरीमा मित्तलको नागरिकता छानबिन गरी आवश्यक परे बदर गर्न तथा दोषी देखिए प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरिएको छ।

उजुरीमा उल्लेख भएअनुसार मित्तलले वीरगञ्ज महानगरपालिका–९ बाट आफू लामो समयदेखि नेपालमा बसोबास गर्दै आएको व्यहोरा उल्लेख गरी सिफारिस लिएका थिए। सोही सिफारिसका आधारमा तत्कालीन कलैया नगरपालिका–४ बाट २०६३ सालमा सञ्चालन गरिएको नागरिकता टोलीमार्फत उनले जन्मका आधारमा नेपाली नागरिकता लिएको दाबी गरिएको छ।

उमेर र बसोबासको विवरणमा असंगति रहेको दाबी

उजुरीकर्ताले मित्तलले नागरिकता प्राप्त गर्न पेस गरेका कागजातमा उमेर, जन्ममिति तथा नेपालमा बसोबास गरेको अवधिबीच नै असंगति रहेको दाबी गरेका छन्।

उजुरीमा उल्लेख गरिएअनुसार नागरिकता लिने समयमा मित्तलको उमेर ४० वर्ष उल्लेख गरिएको भए पनि नागरिकतामा उल्लिखित जन्ममितिका आधारमा उनको उमेर ४२ वर्ष पुग्ने देखिएको दाबी गरिएको छ। त्यस्तै, सोही कागजातमा ४५ वर्षदेखि नेपालमा बसोबास गर्दै आएको उल्लेख हुनु पनि विरोधाभासपूर्ण रहेको उजुरीकर्ताको भनाइ छ।

यसैगरी, वीरगञ्ज महानगरपालिका–९ बाट जारी गरिएको सिफारिसमा मिति तथा अन्य विवरणमा समेत त्रुटि रहेको दाबी गरिएको छ। मित्तलका छोराछोरीसमेत नेपालमै बसोबास गर्दै आएको विवरण सिफारिसमा उल्लेख गरिएको बताइएको छ।

भारतीय नागरिकताको अवस्थाबारे अनुसन्धानको माग

उजुरीकर्ताले मित्तलको जन्मस्थल भारतको पिथौरागढ रहेको दाबी गर्दै नेपाली नागरिकता प्राप्त गर्ने समयमा उनको राष्ट्रियता तथा नागरिकताको कानुनी अवस्था के थियो भन्ने विषयमा समेत अनुसन्धान गर्न माग गरेका छन्।

मित्तलले नागरिकता प्राप्त गरेपछि सामाजिक सञ्जालमा आफ्नो स्थायी ठेगाना भारतको पिथौरागढ उल्लेख गरेको र पछि उक्त विवरण परिवर्तन गरेको दाबीसमेत उजुरीमा गरिएको छ। सामाजिक सञ्जालमा राखिएको विवरण मात्र नागरिकताको कानुनी प्रमाण नहुने भए पनि नागरिकता प्राप्त गर्ने समयमा उनको वास्तविक राष्ट्रियता तथा कानुनी हैसियतबारे सम्बन्धित निकायले आवश्यक अनुसन्धान गर्नुपर्ने उजुरीकर्ताको माग छ।

गृह मन्त्रालय र जिल्ला प्रशासनमा समेत उजुरी परेको दाबी

मित्तलले २०६३ सालमा तत्कालीन कलैया नगरपालिका–४ बाट झुटो विवरण पेस गरी जन्मका आधारमा नेपाली नागरिकता लिएको दाबीसम्बन्धी उजुरी जिल्ला प्रशासन कार्यालय, बारा तथा गृह मन्त्रालयमा समेत परेको बताइएको छ।

उजुरीकर्ताले लामो समयदेखि विषय उठाउँदै आए पनि अहिलेसम्म ठोस कारबाही अघि नबढेको गुनासो गरेका छन्। उनीहरूले सम्बन्धित निकायले नागरिकता जारी गर्दाका मूल कागजात, सिफारिस, प्रमाण तथा त्यसबेला पेस गरिएका अन्य विवरणहरू अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

प्रशासनिक प्रक्रियामाथि पनि प्रश्न

उजुरीमाथि अनुसन्धान भइरहेका क्रममा सम्बन्धित मुद्दा फाँटमा कार्यरत कर्मचारीलाई आर्थिक प्रभावमा पारेर विषयलाई निष्क्रिय बनाउने प्रयास भइरहेको आरोपसमेत लगाइएको छ। यद्यपि, यस्तो आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

वीरगञ्जका केही व्यवसायीका अनुसार मित्तल परिवार करिब २०६० सालतिर व्यापार व्यवसायका लागि नेपाल आएको थियो। त्यसअघि नै लामो समयदेखि नेपालमा बसोबास गरेको भन्ने दाबी र उपलब्ध विवरणबीच मेल नखाने भएकाले नागरिकता प्राप्त गर्ने क्रममा पेस गरिएका कागजात तथा सिफारिसको सत्यता छानबिन हुनुपर्ने उनीहरूको भनाइ छ।

सिफारिस गर्ने कर्मचारीको भूमिकामाथि पनि अनुसन्धानको माग

मित्तलले नागरिकता प्राप्त गर्न पेस गरेका कागजात र सम्बन्धित निकायबाट जारी भएका सिफारिस वास्तविक हुन् वा होइनन् भन्ने विषयमा सूक्ष्म अनुसन्धान आवश्यक रहेको उजुरीकर्ताहरूको भनाइ छ।

विशेषगरी वीरगञ्ज महानगरपालिका–९ बाट मित्तल लामो समयदेखि नेपालमा बसोबास गर्दै आएको व्यहोरा प्रमाणित गरी सिफारिस गर्ने तत्कालीन वडा सचिव रमेश श्रीवास्तवको भूमिकामाथि समेत अनुसन्धान गर्न माग गरिएको छ।

यदि सरकारी कागजातमा जानाजान गलत विवरण उल्लेख गरी सिफारिस गरिएको वा त्यही आधारमा नागरिकता जारी भएको अनुसन्धानबाट पुष्टि भएमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने उजुरीकर्ताको माग छ।

निष्पक्ष छानबिनको माग

मित्तलले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको आरोपको स्वतन्त्र पुष्टि भने भइसकेको छैन। नागरिकता प्राप्त गर्ने क्रममा पेस गरिएका कागजात, सिफारिस, जन्ममिति, बसोबाससम्बन्धी विवरण तथा राष्ट्रियताको अवस्थाबारे सम्बन्धित निकायबाट हुने अनुसन्धानपछि मात्रै कानुन उल्लंघन भए वा नभएको यकिन हुने देखिन्छ।

यसैबीच, मित्तलसँग जोडिएको भनिएको सम्पत्ति तथा आर्थिक कारोबारका विषयमा समेत छानबिन गर्नुपर्ने माग उठेको छ। नागरिकता प्रकरणसँगै उनको नेपाल आगमन, बसोबास, नागरिकता प्राप्त गर्ने आधार, आर्थिक कारोबार तथा सरकारी निकायमा पेस गरिएका कागजातसमेत निष्पक्ष रूपमा अध्ययन गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन्।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM