नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारामा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन करार हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेत र मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूबीच आर्थिक वर्ष २०८३/०८४ का लागि निर्धारित कार्यसम्पादन तथा जिम्मेवारीसम्बन्धी करारमा हस्ताक्षर गरिएको हो।
मंगलबार पथलैयास्थित कार्यालयमा आयोजित कार्यक्रममा मातहतका आठवटा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सम्बन्धित जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूले आगामी आर्थिक वर्षमा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा प्रभावकारी सेवा प्रवाहका क्षेत्रमा गर्नुपर्ने कार्यसम्पादनका विषयमा प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी नायव उपरीक्षक नवराज न्यौपाने, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठ सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।
कार्यसम्पादन करारले मातहतका ट्राफिक प्रहरी कार्यालयहरूको जिम्मेवारीलाई थप व्यवस्थित बनाउँदै तोकिएका लक्ष्य तथा कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, सडक प्रयोगकर्तामा सचेतना अभिवृद्धि तथा सुरक्षित यातायात व्यवस्थापनलाई प्राथमिकतामा राखिने जनाइएको छ।
कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक बस्नेतले मातहतका कार्यालय प्रमुखहरूलाई तोकिएका जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकमैत्री ट्राफिक सेवा प्रवाहमा जोड दिन निर्देशन दिएका थिए।
























