पर्सा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता रञ्जय यादवले भ्रष्टाचार, अन्याय र बेथितिविरुद्ध सक्रिय रूपमा आवाज उठाउन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ।
रास्वपा बिन्दवासिनी गाउँपालिका स्तरीय बैठकलाई सम्बोधन गर्दै यादवले सुशासन कायम गर्नु, भ्रष्टाचार नियन्त्रण गर्नु र समाजमा सकारात्मक रूपान्तरण ल्याउनु पार्टीका प्रमुख एजेन्डा रहेको बताउनुभयो। उहाँले राजनीति केवल निर्वाचनमा उम्मेदवारी दिने र पद प्राप्त गर्ने माध्यम नभई जनताको सेवा गर्ने तथा समाजमा विद्यमान विकृति–विसङ्गति हटाउने अभियान भएको उल्लेख गर्नुभयो।
यादवले समाज, टोल, गाउँ तथा पालिकामा देखिएका समस्या पहिचान गरी तिनको समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो। निर्वाचनमा जित हासिल गरे पनि नगरे पनि जनताको सेवामा निरन्तर खटिनुपर्नेमा जोड दिँदै उहाँले स्थानीय स्तरमा हुने भ्रष्टाचार, अन्याय र अनियमितताविरुद्ध मौन बस्न नहुने बताउनुभयो।
उहाँले भन्नुभयो, “हामी जिते पनि वा नजिते पनि जनताको सेवामा निरन्तर खटिनुपर्छ। हाम्रो पार्टी सत्ता वा पदका लागि मात्र होइन, समाजका विकृति, भ्रष्टाचार र बेथितिविरुद्ध लड्नका लागि बनेको हो। गाउँ–ठाउँमा भइरहेका भ्रष्टाचार र अन्यायविरुद्ध आँखा चिम्लेर बस्ने छुट कसैलाई छैन।”
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको बैठकले बिन्दवासिनी गाउँपालिकामा पार्टीको सङ्गठनलाई तल्लो तहसम्म विस्तार तथा सुदृढ बनाउने, सुशासन कायम गर्ने र जनताका समस्या समाधानका लागि सक्रिय रूपमा खटिने विषयमा छलफल गरेको थियो।
बैठकमा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य रमाकान्त चौरसिया, रास्वपा बिन्दवासिनी गाउँपालिका सभापति बिनोद कुमार चौरसिया, सचिव सुजित कुमार साह, विशाल पासवान, शिवनारायण कुशवाहालगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो।
बैठकमा सहभागी अन्य वक्ताहरूले गाउँपालिकाभित्रका सडक, शिक्षा, स्वास्थ्य, ढल तथा नाला व्यवस्थापन र स्वच्छ पिउने पानीजस्ता आधारभूत समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले स्थानीय सरकारलाई जनताप्रति जवाफदेही बनाउन तथा विकास निर्माणका काममा पारदर्शिता सुनिश्चित गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
बैठकमा जनताका गुनासा सुन्ने, स्थानीय समस्याको पहिचान गर्ने र समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने कार्यमा पार्टीका नेता तथा कार्यकर्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो। साथै, आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै सङ्गठन विस्तार र जनतासँगको सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।























