२०८३ आश्विन १७ गते शनिबार

वीरगन्ज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई राहत वितरण । वास्तविक पीडितको घरदैलोमै पुगेर मलम लगाउने प्रयास ।

वीरगन्ज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई राहत वितरण । वास्तविक पीडितको घरदैलोमै पुगेर मलम लगाउने प्रयास ।

अभिलाष गुप्ता
वीरगन्ज, १७ असोज

विपद्को पीडा केवल घर भत्किनु वा सम्पत्ति गुमाउनुमा मात्र सीमित हुँदैन, परिवारको मुख्य सहारा नै गुम्दा त्यसले जीवनभरको संघर्ष थपिदिन्छ। यस्तै पीडाबाट गुज्रिरहेको एक बाढी प्रभावित परिवारको घरदैलोमै पुगेर सामाजिक सेवामा निरन्तर सक्रिय “वीरगन्ज युवा समाज” ले पुनः एक साताभित्रै अर्को प्रभावित परिवारलाई प्रत्यक्ष राहत सहयोग हस्तान्तरण गरेको छ।

रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका सवारी चालक मुन्ना अन्सारीको परिवारलाई खोजिगरी समाजले राहत उपलब्ध गराएको हो। वीरगन्ज महानगरपालिका–२७, उदयपुर घुर्मी (कोहडी) का स्थायी निवासी अन्सारी नै परिवारको एक मात्र मुख्य आयस्रोत थिए। उनी बेपत्ता भएपछि उनकी श्रीमती रूबी खातुन, चार नाबालकहरु तथा वृद्ध आमा-बुवा गम्भीर आर्थिक तथा मानसिक संकटमा परेका छन्।

दैनिक जीवनयापन र चुलो बाल्नसमेत कठिन बनेको खबर पाएलगत्तै वीरगन्ज युवा समाजको टोली पीडितकै निवासमा पुगेर पीड़ित परिवारलाई अत्यावश्यक खाद्यान्न, नयाँ लत्ताकपडा, सरसफाइका सामाग्रीका साथै नगद रु. ७५०५/- (सात हजार पाँच सय पाँच रुपैया) सहयोग हस्तान्तरण गरेको छ।

राहत हस्तान्तरणका क्रममा समाजका अध्यक्ष संजीव थापाले आफ्ना विचार व्यक्त गर्दै भने, “विपत्ति बाजा बजाएर आउँदैन, तर यस्तो कठिन घडीमा पीडितको घाउमा सानो भए पनि मलम लगाउनु हाम्रो मानवीय कर्तव्य हो। सरकारले संकलित राहत सामग्री एकै ठाउँमा थुपारेर राख्नुभन्दा वास्तविक पीडितको घरदैलोमै पुगेर पारदर्शी ढंगले वितरण गर्नु आजको आवश्यकता हो। मुख्य कमाउने व्यक्ति नै बेपत्ता भएपछि बिचल्लीमा परेको यस परिवारलाई यो सहयोगले केही दिनका लागि भए पनि ठूलो राहत पुग्नेछ। आगामी दिनमा पनि हामी यस्ता वास्तविक पीडितहरूको पहिचान गरी सहयोग अभियानलाई निरन्तरता दिनेछौँ।”
कार्यक्रमका संयोजक मनोज गुप्ताले , “विपद्‌को यो घडीमा स्वतःस्फूर्त रूपमा जोडिनुभएका सम्पूर्ण सहयोगी हातहरू धन्यवादका पात्र हुनुहुन्छ”। सोही अवसरमा गुप्ताले प्रभावित परिवारहरूको घाउमा मलम लगाउन अन्य सामाजिक संघ संस्थाहरू, दातृ निकाय तथा मनकारी व्यक्तिहरूलाई पनि अगाडि सरेर सहयोग गर्न आह्वान गरे ।

एक साताको छोटो अवधिमै वीरगन्ज युवा समाजले सञ्चालन गरेको यो दोस्रो सफल राहत वितरण कार्यक्रम हो। प्राकृतिक विपद्को यस घडीमा वीरगन्ज युवा समाजले देखाएको द्रुत तत्परता र निःस्वार्थ मानवीय सेवा प्रशंसनीय छ ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM