निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साको आयोजनामा सम्पन्न ‘प्याब्सन राइम्स फेस्टिभल’मा विद्या सदन स्कुल प्रथम भएको छ।
वीरगञ्जस्थित क्लासिक ब्याङ्क्वेट हलमा आयोजित प्रतियोगितामा विद्या सदनले २६९ अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो। मूनलाइट स्कुलले २४१ अंकसहित दोस्रो, लिटल फ्लावर स्कुलले २२६.५ अंकसहित तेस्रो, रोयल एकेडेमीले २२०.५ अंकसहित चौथो तथा ज्ञानदा एकेडेमीले २१८.५ अंकसहित पाँचौँ स्थान प्राप्त गरे।
उत्कृष्ट पोसाक प्रस्तुतिका लागि गुरुकुल पन्ना मेमोरियललाई ‘बेस्ट कस्ट्युम अवार्ड’ प्रदान गरिएको थियो।
विद्यालय तहका विद्यार्थीमा नृत्य, सिर्जनशीलता तथा प्रस्तुति क्षमताको विकाससँगै सामाजिक र शैक्षिक विषयप्रति उनीहरूको बुझाइ उजागर गर्ने उद्देश्यले आयोजना गरिएको राइम्स फेस्टिभलमा विभिन्न विद्यालयका विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
प्रतियोगितामा विद्यार्थीहरूले राइम्स तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिमार्फत शिक्षा, शान्ति, मानवता, जंक फुड तथा स्वस्थ खानपानलगायत समाजसँग प्रत्यक्ष जोडिएका विषयलाई उठाएका थिए। आकर्षक प्रस्तुति, सन्देशमूलक विषयवस्तु र सिर्जनात्मक शैलीले कार्यक्रमलाई मनोरञ्जनात्मकसँगै चेतनामूलक बनाएको थियो।
कार्यक्रमका संयोजक प्याब्सन महानगर सदस्य विजयकुमार बल रहेका थिए। कार्यक्रमको संयुक्त अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी र प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले गरेका थिए भने सञ्चालन प्याब्सन महानगर सचिव अमित आलोकले गरेका थिए। निर्णायक मण्डलमा रानी खरेल, पिंकी जोशी र द्विवेश गुप्ता रहेका थिए।
कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय एकाइ पर्साका अध्यक्ष मोती भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला साह, गोपाल साह, गुरुकुलका प्रधानाध्यापक तेजिन्द्र कौर, रोयल एकेडेमी स्कुलका प्रधानाध्यापक विजया ओझैया, क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल, महासचिव राकेशकुमार साह, आनन्द चतुर्वेदी, जितेन्द्र प्रियांशु, प्याब्सन पर्साका महासचिव अशोक संग्रौला तथा मिडिया संयोजक दिपु बनर्वाललगायतको उपस्थिति थियो।
प्रमुख अतिथि मोती भट्टराईले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए। विद्यालयमा हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता तथा सामाजिक विषयप्रतिको चेतना विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले विद्यार्थीको शैक्षिक विकाससँगै कला, प्रतिभा र सिर्जनात्मक क्षमतालाई पनि प्राथमिकता दिनुपर्ने बताए। विद्यालयबीच हुने स्वस्थ प्रतिस्पर्धाले विद्यार्थीलाई थप उत्साहित बनाउने उनले उल्लेख गरे।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूको प्रस्तुतिले राइम्स फेस्टिभललाई मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई शिक्षा, सिर्जनशीलता र सामाजिक चेतनासँग जोडिएको सन्देशमूलक उत्सवका रूपमा प्रस्तुत गरेको थियो।
























