वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित बजरंग टोलमा रहेको एयसटी प्रालिको लापरबाहीका कारण मुख्य सडकमा दुर्घटनाको जोखिम बढेको स्थानीयले गुनासो गरेका छन्।
प्रालिमा सामान लोड तथा अनलोड गर्न आउने ठूला ट्रक तथा मालवाहक सवारीसाधन मुख्य सडकमै पार्किङ गरिँदा सडकमा जाम हुनुका साथै दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ। कम्पनीमा आउने ठूला सवारीसाधन सडकमा लामो समयसम्म रोकेर राख्दा सडकसमेत क्षतिग्रस्त हुने गरेको र पैदल यात्रुलाई आवतजावतमा समस्या हुने गरेको उनीहरूले बताएका छन्।
स्थानीयका अनुसार एयसटी प्रालिका सवारीसाधन मुख्य सडकमा पार्किङ गर्ने समस्या पटक–पटक दोहोरिँदै आएको छ। सम्बन्धित निकायलाई यसबारे जानकारी गराउँदा समेत समस्या समाधान नभएको उनीहरूको गुनासो छ।
यस विषयमा पर्सा ट्राफिक प्रहरीले मुख्य सडकमा सवारीसाधन पार्किङ गर्न नमिल्ने जनाएको छ। सडकमा पार्किङ गरेको अवस्थामा ट्राफिक नियमअनुसार कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।
यता, एयसटी प्रालिका सुमित अग्रवालले मुख्य सडकमा सवारीसाधन पार्किङ नगर्ने प्रतिबद्धता जनाए पनि केही घण्टामै पुनः सोही स्थानमा ट्रक पार्किङ गरिएको स्थानीयले बताएका छन्।
“पार्किङ नगर्ने प्रतिबद्धता जनाए पनि केही घण्टा नबित्दै फेरि ट्रक सडकमा पार्किङ गरियो,” एक स्थानीयले भने, “यसरी दैनिकजसो सडक अवरुद्ध हुँदा दुर्घटनाको जोखिमसँगै स्थानीयलाई आवतजावतमा समेत ठूलो समस्या भइरहेको छ।”
स्थानीयले मुख्य सडकमा हुने अव्यवस्थित पार्किङ तत्काल रोक्न र पैदलयात्री तथा सवारीसाधनको सुरक्षित आवतजावत सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
























